घडी उल्टो दिशामा चल्ने गाउँ, उल्टो घडी हुनुको कारण के ?



सैघाली खबर/काठमाण्डौँ, ९ जेठ।
तपाईलाई घडी उल्टो दिशामा चल्ने गाउँ भन्ने सुन्दैमा अनौठो लाग्नसक्ला । हाम्रो छिमेकी मुलुक भारतको एक गाउँमा उल्टो घडी चल्दछ । छत्तिसगढस्थित एक आदिवासी गाउँमा घडी विपरीत दिशामा चलाइने गरिएको छ । दुनियाँमा घडी बायाँबाट दायाँतर्फ चल्दछ । तर छत्तिसगढको कोरबास्थित आदिवासी शक्तिपीठसँग जोडिएको एक स्थानमा बस्ने गोँड आदिवासी समुदायले प्रयोग गर्ने घडी चाहिँ दायाँबाट बायाँतर्फ चल्ने गरेको छ ।

उक्त गाउँमा हिजोआजबाट मात्र घडी उल्टो चल्न थालेको होइन । जुन समयदेखि घडीको प्रचलन सुरु भयो, त्यहीँ बेलादेखि उल्टो दिशामा चल्ने घडी प्रयोग गरिँदै आएको छ । उक्त आदिवासी समुदायका अनुसार उनीहरुको घडी स्वभाविक हो र प्रकृतिको नियमानुसार चल्दछ । उनीहरुले आफ्नो समयको प्रकारलाई गोडवाना टाइम भन्छन् । उल्टो घडी हुनुको कारण के होला ? यो गाउँका गाउँलेहरुका अनुसार उनीहरुको घडी पृथ्वीको घुमाइ अनुसार चल्दछ ।

पृथ्वी पनि दायाँबाट बायाँ चल्ने र सूर्य तथा चन्द्रमाले पनि सोही दिशामा अन्तरीक्षको परिक्रमा गर्नुका साथै रुखमा चढ्ने लहरा पनि दायाँबाट बायाँ दिशामै अघि बढ्ने भएको हुँदा आफुहरुको घडी पनि सोही अनुसारको रहेको दाबी उनीहरुको छ । त्यसैले दुनियाँका अरु सबै घडीहरु उल्टो रहेका र आफूहरुको घडीमात्र सुल्टो रहेको दाबी गाउँलेहरुले गर्ने गरेका छन् । यो आदिवासी समुदाय प्रकृति पुजक हो । प्रकृतिको चक्र जुन दिशामा चलिरहेको छ, त्यसविपरीत काम गर्नुहुँदैन भन्ने उनीहरुको मान्यता छ । यो समुदायका १० हजार भन्दा धेरै परिवार रहेका छन् ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्