पशुले पनि पाउँछन् सुत्केरी भत्ता !



मिना बुढाथोकी

सल्यान, ९ जेठ । सल्यानमा पशुलाई सुत्केरी भत्ता दिन शुरु गरिएको छ । जिल्लाको शारदा नगरपालिका भित्रका पशुलाई सुत्केरी भत्ता दिन शुरु गरिएको नगरपालिकाले जनाएको छ । आफू नगर प्रमुख भएर चुनिएपछि व्यावसायिक रुपमा नगरपालिकामा कृयाकलाप संचालन गर्न र यहाँको कृषि क्षेत्रलाई व्यवसायिक रुपमा नै अगाडी बढाउने उद्देश्यले जिल्लामै पहिलो पटक पशुलाई सुत्केरी भत्ता दिने गरेको नगर प्रमुख सुरेश अधिकारीले बताए ।

‘मेरो नगर भित्रका किसानहरुले परम्परागत कृषि प्रणालीबाट सोचे जस्तो फाईदा लिन सकेका छैनन्’ उनले भने, ‘त्यसैले यहाँका किसानहरुलाई व्यवसायिक कृषि तर्फबाट अग्रसर गराउने उद्देश्यले जिल्लामै नमुनाको रुपमा यस्तो कामको शुरुवात गरेको हुँ ।’ नगरपालिका भित्र रहेका अनुत्पादक पशुलाई उत्पादनमुखी बनाउने उद्देश्यले यस्तो कार्यक्रम संचालनमा ल्याएको नगर प्रमुख अधिकारीले बताए ।

‘नगर भित्रका किसानले पाल्दै आएका गाई भैंसीको नस्ल सुधारका लागि पशुहरुमा कृतिम गर्भाधान गराएर त्यो पशु सुत्केरी भएमा केही रकम दियौं भने कम्तिमा त्यो किसानलाई पशु पाल्नको लागि सहयोग हुने भएकाले कार्यक्रम संचालन गरिएको छ’, उनले भने । यसरी कृतिम गर्भाधान गरेका गाई भैंसी सुत्केरी हुँदा बाछाबाछी र पाडापाडीको स्याहार गरे वापत त्यस्ता किसानलाई २ हजार ५ सयका दरले नगरपालिकाले सुत्केरी भत्ता दिने गरेको छ ।

यो प्रकृया झन्झटिलो नभई सहजै हुनै भएकाले यसबाट लाभ लिन नगर प्रमुख अधिकारीले किसानलाई अनुरोध गरे । आर्थिक वर्ष ०७४÷०७५ मा नगरपालिकाले शुरुको चरणमा २५ वटा पशुलाई कृतिम गर्भाधान गराउने लक्ष्य लिएकोमा हाल सम्म १४ वटा पशुलाई कृतिम गर्भाधान गराएको नगरपालिकाका पशु स्वास्थ्य शाखाका नायब पशुस्वास्थ्य प्राविधिक मधुसुधन उपाध्यायले बताए । जसमध्ये १० जना किसानलाई पशुलाई कृतिम गर्भाधान गराएर सुत्केरी गराए बापत जनही २ हाजर ५ सयका दरले रकम भुक्तानी दिइसकिएको छ ।

यस्तै बाँकी रहेका ४ वटा पशु धनीलाई पनि रकम भुक्तानी गर्ने चरणमा रहेको नगरपालिकाको पशु शाखाले जनायो । पशुलाई कृतिम गर्भाधान गराउन नजिकका किसानहरुले कार्यालयमा नै आएर सेवा लिएको र पायक नपर्ने पशुधनिका घरमा नै गएर पनि नगरपालिकाले यस्तो सुविधा प्रदान गर्दै आएको छ ।

यसरी कृतिम गर्भाधान गराउदा नाता प्रजनन पनि नहुने र नस्ल सुधार हुँदा पशुधनीले मनग्य आम्दनी लिन सक्ने उनको भनाई छ । प्राकृतिक गर्भाधान गराउने किसानले भने यो सुविधा नपाउने उनले बताए । कृतिम गर्भाधान गराएर पशु सुत्केरी हुँदा स्याहार भत्ता पाएका किसानले अहिले लाभ लिन पनि शुरु गरि सकेका छन् ।

यस्तै नगरपािलकाले नगर भित्र बाख्रा पालन गर्ने किसानहरुका लागी नस्ल सुधार कार्यक्रम संचालन गरेको जनाएको छ । नाता प्रजनन बाट ख्याउटे र परम्परागत रुपका बोका र बाख्रा उत्पादन भएकाले बाख्रापालक किसानलाई फाईदा पु¥याउने उद्देश्यले नस्ल सुधार कार्यक्रम संचालन गरिएको छ । बाख्राको उन्नत जातको बोकाबाट प्रजनन गराई नस्ल सुधार कार्यक्रमबाट पनि किसानले फाईदा लिएको नगरपालिकाको कार्यलयले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्