गृहमन्त्री थापाको सम्पत्तिमा दुईवटा कुकुर पनि ।।



सैघाली खबर, काठमाण्डौँ, ९ जेठ।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पेश गरेको आफ्नो सम्पत्ति विवरण सरकारले सार्वजनिक गरेको छ । विवरणमा गृहमन्त्री थापाले कृषि तथा पशुधनमा छिमेकीबाट प्राप्त दुईवटा कुकुर पनि रहेको उल्लेख गरेका छन् । उनले आफ्नी श्रीमती नैनकला थापाको नाममा चितवनको भरतपुर–१०, चित्रसेन मार्गमा १ कठ्ठा ०.७५ धुर जग्गा अंशवण्डाबाट पाएको जनाएका छन् । त्यस्तै श्रीमतीकै नाममा भरतपुर–११, भोजाडमा आमाको पेवा बापत प्राप्त गरेको १ लाख रुपैयाँबाट किनेको जग्गासमेत उनले विवरणमा उल्लेख गरेका छन् ।

६ तोला सुन रहेको उल्लेख गरेका मन्त्री बादलले सुन श्रीमतीको माइतीघर तथा विदेशबाट भाइ र बहिनीबाट उपहार पाएको बताएका छन् । रेष्टुरेन्ट व्यवसायबाट आम्दानी भएको ३ लाख रुपैयाँ नगद तथा संविधान सभाको पहिलो निर्वाचनमा सभासद हुँदाको तलबबापतको २० हजार रुपैयाँ हाल थापासँग रहेको देखिन्छ ।

गृहमन्त्री थापाले स्वकीय सचिवालय सदस्य विरु तामाङसँगको संयुक्त खातामा ३ लाख ६० हजार १ सय ९३ रुपैयाँ रहेको उल्लेख गरेका छन् । यो हाल गृहमन्त्री भएपछि एभरेष्ट बैंकमा जम्मा भएको रकम हो । चलसम्पत्तिमा थापाले श्रीमतीको माइतबाट र विदेशबाट बहिनीले उपहार स्वरुप पठाएको ६ वटा सुन र पार्टनरसीपमा चलाएको रेस्टुरेन्टबाट प्राप्त ३ लाख नगद रहेको उल्लेख गरेका छन् ।

शेयरको विवरणमा थापाले पत्नी नैनकला थापाको नाममा अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको १४ हजार ६०० बराबराको १४६ कित्ता शेयर रहेको उल्लेख गरेका छन् । सवारीमा आफूसँग पार्टीको नाममा रहेको हरियो रंगको सेभरोले टाभेरा रहेको उल्लेख गरेका छन् । सम्पत्ति विवरणका अनुसार मन्त्री थापाले ऋण लिएका छैनन् ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्