नेपालमा गिद्ध संरक्षणको नालीबेली



नरेन्द्र केसी

दाङ,९ जेठ ।  एक जमाना थियो– घरमाथि गिद्ध आएमा पूजापाठ गरेर चोखाइन्थ्यो। गिद्धलाई ‘अशुभ’ पंक्षीको रुपमा अथ्र्याउने अनि पण्डित नै बोलाएर घर चोख्याउने चलन समेत थियो। कसैलाई नराम्रो नजरले हेर्नुलाई ‘गिद्धे दृष्टि’ पनि भन्ने गरिन्छ कहीँकतै।

तर, अहिले समाज फेरिएको छ। हिजो छोइछिटो गरिने त्यही गिद्ध घाइते अवस्थामा भेटियो भने उद्धार गरिन्छ, उपचार गरेर फेरी जंगलमा छाडिन्छ। यति मात्र होइन कतिपय ठाउँमा स्थानीय समुदायले गिद्ध संरक्षणलाई अभियानकै रुपमा अघि बढाएका छन्। त्यसबाटै आयआर्जनको स्रोत पनि बढाउन थालेका छन्।

त्यसरी नै गिद्ध संरक्षणको अभियानमा लागेका छन् दाङको रामपुर र बिजौरी नमूना वस्ती। जहाँका महिला समूह नै बनाएर वर्षाेदेखि गिद्ध संरक्षण गरिरहेका छन्। बालबालिहरू वातावरण (इको) क्लबमार्फत् गिद्ध संरक्षणमा जुटेका छन्।

महिला र बालबालिका क्रमशः समूह र क्लबमार्फत् गिद्ध संरक्षण अभियानमा जुटेका छन्।

स्थानीय महिलाहरू समूहमा भेला हुन्छन्, गिद्धको अवस्थाबारे समीक्षा गर्छन्। बचत गर्छन् र त्यसबाटै आयआर्जनको स्रोत बढाउँछन्। बालबालिकाहरू इको क्बल मार्फत् बेलाबेला सचेतना कार्यक्रम गर्छन्। उनीहरू जंगलमै पुगेर गिद्धको अवस्थाको जानकारी पनि लिन्छन्।

दाङका तीन विद्यालयमा गठन भएका इको क्लबमार्फत् तीन सय विद्यार्थी समेटिएका छन्, भने ३ सय ९० महिला १३ वटा महिला समूहमा आवद्ध छन्।

महिला र बालबालिका क्रमशः समूह र क्लबमार्फत् गिद्ध संरक्षण अभियानमा जुटेकोे पर्यावरणीय तथा दीगो विकास अनुसन्धान केन्द्रका अध्यक्ष डिल्लीबहादुर रावतले बताए। उनका अनुसार ती महिला र स्कूले बालबालिकाले समुदायमा गिद्धको महत्वबारे जानकारी दिँदै समग्र पर्यावरणीय अभियानलाई सहयोग पुग्ने कार्यक्रम गरिरहेका छन्। जस अनुसार पब्लिक ज्ञानज्योति मावि हलवार, नवजागरण मावि कुटीचौर बिजौरी र जनता मावि बुका रामपुरमा विद्यार्थीहरूले इको क्लब गठन गरेका छन्।

वातावरणीय दिवसमा सचेतनामूलक कार्यक्रम गर्नुका साथै समुदायमा गिद्धको महत्वबारे जनचेतना बृद्धि गर्ने काम गरिरहेको इको क्लब पब्लिक ज्ञानज्योति मावि हलवारकी अध्यक्ष कृति रावतले जानकारी दिइन्। क्लब गठन गरेपछि थुप्रै विद्यार्थीले गिद्धको महत्व बुझेको र उनीहरूले आफ्ना घरपरिवार तथा समुदायमा पनि सचेतना फैलाउन थालेको उनले बताइन्।

दाङको बिजौरीमा गिद्धकै प्रजातिबाट र रामपुरमा पशुपंक्षीको नामबाट महिला समूहको नाम राखिएको छ। बिजौरीमा डंगर, हिमाली, राज, सुन, गोब्र, हाडखोर र खैरो जटायु महिला समूह गठन गरिएको छ। त्यस्तै रामपुरमा मयुर, मैना, न्याउली, चरीबाघ, जुेली तथा वातवारण संरक्ष र समाज सुधारका लाग महिला एकता समूह गठन गरेर गिद्ध संरक्षणको अभियान अघि बढाइएको मैना महिला समूह रामपुरकी अध्यक्ष विना नेपालीले जानकारी दिइन् ।

संरक्षणसँगै आयआर्जन


यहाँका महिलाले गिद्ध संरक्षणसँगै आयआर्जन पनि गरिरहेका छन्। बिजौरी र रामपुरमा गठन भएका प्रत्येक महिला समूहबाट झण्डै तीन लाखको हाराहारीमा नगद परिचालन गरिएको छ।

सानो खैरो प्रजातिको गिद्ध दाङमा पहिलो पटक भेटिएको हो।

शुरुमा आफैं बचत संकलन थालेका उनीहरूले हाल काठदाउरा चोरी गर्नेहरूसँग जरिवाना लिएर, विदेशी पर्यटक आउँदा नाचगान गरेर आएको रकम, सामूहिक रोपाइँ गरेर, कपास कातेर संकलन गरेको रकम समूहमा बचत गर्ने गरेका छन्।

मयूर महिला समूह रामपुरकी सचिव देवका पाण्डेका अनुसार समूहका सदस्यहरुलाई आवश्यक परेमा ऋण दिने गरिन्छ। समूह बनाउँदा बचत गर्ने बानीको विकास भएको र गिद्ध संरक्षणसहित पर्यावरण संरक्षणमा चासो दिनेहरु बढेको उनले बताइन्। ‘हरेक बैठकमा वन संरक्षण र गिद्धको अवस्थाबारे समीक्षा हुने गरेको छ’ उनले भनिन्।

विश्वकै दुर्लभ गिद्धको गुँड भेटियो
संरक्षण अभियान थालिएपछि दाङमा गिद्धको संख्या ह्वात्तै बढेको छ। यसअघि दाङमा गिद्धका ५–७ वटा गुँड रहेकोमा अभियान शुरु भएपछि बिजौरीमा ६२ र देउखुरीमा ७० वटा गुँड भेटिएको केन्द्रका अध्यक्ष रावतले जानकारी दिए।

यो वर्ष घोराही उपमहानगरपालिका–१ को रामपुरबुकामा लोपोन्मुख सानो खैरो प्रजातिको गिद्धको गुँड भेटिएको छ। विश्व पंक्षी संरक्षण संघले अति संकटापन्न प्रजातिको रुपमा राखेको सानो खैरो प्रजातिको गिद्ध दाङमा पहिलो पटक भेटिएको हो।

गिद्धमा विधावारिधि गरिरहेका षडानन्द पौडेल र वन विज्ञान अध्ययन गर्दै गरेका सुमन घिमिरेले दाङमा पहिलोपटक गुड भेटाएका हुन्। बुकामा रहेको चरिङ्ेताल जाने बाटोमा रहेको एउटा ठूलो साजको रुखमा २ वटा सानो खैरो गिद्धको गुडमा सानो खैरो गिद्धले बच्चा हुकाइरहेको भेटिएको हो। दुइवटा गुडमध्ये एउटामा बच्चा उड्ने तयारीमा रहेको र अर्कोमा सानो बच्चा रहेको पौडेलले बताए।

गिद्ध संरक्षणमा केन्द्रीय बजेट छैन, स्थानीय तह विस्तारै जाग्दै

६१ जिल्लालाई ‘डाइक्लोफेनेकमुक्त जिल्ला’ घोषणा गरेर समुदायस्तरबाट गिद्ध संरक्षणको काम भए पनि यसमा सरकारी बजेट भने पर्याप्त रहेको छैन।

वन तथा वातावरण मन्त्रालयको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले संरक्षणको क्षेत्रमा काम गरिरहेको छ। विभागले सहयोगी संस्थासँगको समन्वयमा नीति निर्माण गर्ने बाहेक बजेट परिचालन गर्न नसकेको पंक्षी संरक्षण संघका गिद्ध संरक्षण कार्यक्रम अधिकृत कृष्ण भुसालले जानकारी दिए।

गिद्ध संरक्षणका लागि ६ जिल्लाका सात स्थानमा गिद्ध रेष्टुरेण्ट

सरकारले सन् २००९–२०१३ गिद्ध संरक्षण कार्यक्रम बनाएको थियो भने सन् २०१५–२०१९ को कार्यक्रम चलिरहेको छ। यसको उद्देश्य पनि इक्लोफेनेक औषधिको प्रयोग रोक्ने, जटायु रेष्टुरेन्टलाई सहयोग गर्ने, प्राकृतिक वासस्थानको सुरक्षा गर्नेलगायत रहेका भुसालले बताए।

संघीय सरकारबाट बजेट नआएपछि स्थानीयस्तरमै थोरै–थोरै बजेट छुट्याएर संरक्षणको काम गर्न थालिएको छ। चालु आर्थिक बर्षमा सचेतनाका लागि थोरै बजेट छुट्याइएको जानकारी दिंदै दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले आगामी बर्ष यसलाई बढाउने बताए।

दाङकै राप्ती गाउँपालिकाले पनि स्थानीय कालिका सामुदायिक वनमा रहेको जटायु रेष्टुरेन्टका लागि केही रकम छुट्याएको थियो। त्यस्तै रुपन्देही, अर्घाखाँची, कपिलवस्तुलगायतका जिल्लाका केही स्थानीय तहले पनि थोरै थोरै बजेट छुट्याएर गिद्ध संरक्षणमा चासो दिन थालेको पंक्षी संरक्षण संघका अधिकृत भुसालले जानकारी दिए।

गिद्धको सत्रु ‘डाइक्लोफेनेक’ औषधि
संसारमा गिद्धको संख्या ९९ प्रतिशतसम्म घट्नुको मुख्य कारक ‘डाइक्लोफेनेक’ औषधिलाई मानिएको छ।

पशुको उपचारमा प्रयोग हुने यो औषधिका कारण गिद्ध मर्ने गरेको तथ्य पत्ता लागेपछि यो औषधि प्रतिबन्ध लगाइएको छ। यो औषधि प्रयोग गरिएका पशुको मृत्युपछि गिद्धले सिनो खाँदा त्यसको असर सोझै गिद्धलाई पर्ने गरेको पंक्षी संरक्षण संघका फिल्ड अधिकृत भुपाल नेपालीले बताए।

नेपालले २०६३ जेठ २३ गते नै यो औषधिमाथि प्रतिबन्ध लगाइसकेको छ। दाङलाई २०६७ मंसिर १० गते देशकै पहिलो ‘डाइक्लोफेनेकमुक्त जिल्ला’ घोषणा गरिएको थियो। अहिले अन्य जिल्लामा पनि यो अभियान जारी रहेको नेपालीले बताए।

देशभर सात वटा ‘गिद्ध रेष्टुरेन्ट’
मरेका जनावर र कुहिएका सिनो खाने भएकाले गिद्धलाई प्राकृतिक कुचीकार भनिन्छ। पछिल्लो समयमा यसको संख्या ९९ प्रतिशतसम्म घटेपछि संरक्षणको अभियान पनि सँगसँगै थालिएको छ।

गिद्ध संरक्षणका लागि ६ जिल्लाका सात स्थानमा गिद्ध रेष्टुरेण्ट स्थापना गरी संरक्षणको काम भइरहेको राष्ट्रिय गिद्ध संरक्षण सञ्जालका अध्यक्ष डिल्लीबहादुर रावत बताउँछन्। उनका अनुसार दाङको बिजौरी र लालमटीय, नवलपरासीको कावासोती, रुपन्देहीको गैडाताल, कास्कीको घाचोक, सुनसरीको रामधोनी सामुदायी वन र कैलालीको खुटियामा गिद्ध रेष्टुरेण्ट रहेका छन्।

यहाँ पशु बृद्धाश्रम स्थापना गरेर मर्न आँटेका गाइवस्तु राखिदिने र परेपछि त्यसको मासु खान गिद्ध   खाउने गरेका छन्। गिद्धको आहार व्यवस्था गरिएको ठाउँलाई गिद्ध रेष्टुरेन्ट भन्ने गरिएको छ।

नेपालमा ९ प्रजातिको गिद्ध
नेपालमा हाडफोर, सेतो गिद्ध, डंगर गिद्ध, सानो खैरो गिद्ध, हिमाली गिद्ध, खैरो गिद्ध, राज गिद्ध, सुन गिद्ध र लामो ठुडे गरेर ९ प्रकारका गिद्ध पाइन्छन। यीमध्ये डंगर र सानो खैरो प्रजातिको गिद्ध लोप हुने अवस्थामा रहेका छन्।

चितवनमा एउटा प्रजनन् केन्द्र पनि राखिएको छ। यसमा ६० वटा गिद्ध राखेर प्रजननको काम भइरहेको छ। यहाँबाट हुर्केका ६ वटा गिद्धलाई ट्याग लगाएर छाडिएको छ।

गिद्ध संरक्षणमा अगाडि रहेको दाङमा ७ प्रजातिका गिद्ध रहेको नेपालीले बताए। गिद्धले एक सिजनमा एउटा मात्र बच्चा निकाल्ने गर्छ। ७५ दिन ओथारो बसेपछि बच्चा दिने र ओथारो वसेको १ सय २० दिनमा बच्चा उडाउन सक्ने नेपालीले जानकारी दिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्