दाङमा आधुनिक प्रबिधिबाट माटाका भाँडा



 

दिपक बोहरा

 दाङ ९ जेठ ।दाङका कुमालहरुले पनि आधुनिक प्रबिधिबाट माटोका भाँडा बनाउन शुरु गरेका छन् । कुनै समय हातले माटाका भाडा बनाउने गरेका कुमाल समुदाय पछिल्लो आधुनिक मेसिन प्रयोग गरेर माटोका भाडा बनाउन थालेका छन् । प्रबिधिको बिकास संगै कुमाल समुदायले माटाका भाँडा निर्माण गर्न पनि प्रबिधिको प्रयोग गर्न थालिएका छन् ।

लामो समय देखि हातले भाँडा बनाउन थालेका कुमाल समुदायले पछिल्लो समय मेसिनबाट भाँडा बनाउन पाउँदा खुसी पनि भएका छन् । अहिले माटोका भाडा निर्माणका लागि माटो घोल्ने मेसिन, माटो पेल्ने मेसिन,माटोलाई धुलो बनाउने मेसिन, सामान पोल्ने मेसिन जडान भएको छ । पहिले हातले माटाका भाँडा बनाउदा फुटेर खेर जाने समस्या थियो, अब त्यो समस्याको अन्त्य हुने कुमाल अगुवा प्रेम बहादुर कुमालले बताए । ‘पुरानो तरिकाबाट माटाका भाँडाहरु निर्माण गर्दा फुटेर धेरै खेर जाने गरेका थिए’ उनले भने‘ अब मेसिन जडान संगै त्यो समस्या अन्त्य हुने छ ।

उक्त मेसिन बिद्युतबाट चल्ने भएकाले पहिले जस्तो भट्टि बनाएर माटोका भाँडा बनाउने चलनको अन्त्य भएको कुमालले बताए ।‘पहिले माटोका भाँडा बनाउनलाई भट्टिको प्रयोग गरिन्थ्यो’ उनले भने‘ तर अहिले माटोका भाडा बनाउनलाई मेसिन जडान गरेपछि सहज भएको छ ।’ मेसिन जडान भएपछि भाँडा बनाउन पनि धेरै समय नलाग्ने तथा पहिलो जस्तो दुःख पनि नहुने उनले बताए । पहिले माडाका भाँडा निर्माण गर्न तीन दिन लाग्ने गरेको भन्दै मेसिन जडान गरेपछि एक दिनमा भाडा निर्माण हुने उनको भनाई थियो ।

अब सबै काम बिद्युतबाट हुने भएकाले पहिले जस्तो जोखिम पनि नहुँने उनको भनाई छ । बिभिन्न संघसंस्थाको सहयोगमा करिब ६ लाख बराबरको सहयोगमा उक्त मेसिन ल्याईएको उनले बताए । साझा सुबिधा केन्द्र सञ्चालन गरेर माटाका भाँडा निर्माण गर्दै आएका कुमाल समुदालयले प्रबिधि जडान गरेसंगै आम्दानी पनि बढ्ने अपेक्षा गरेका छन् । समुहका अध्यक्ष समेत रहेका कुमालले भने‘पहिले हातले बनाउदै आएका भाडाहरु अब मेसिनले निर्माण गर्दै छौं, अब पहिले भन्दा आम्दानी बढ्ने अपेक्षा गरेका छौं ।’ हातले माटाका भाँडा निर्माण गर्दा करिब २५ हजार देखि ५० हजारसम्म आम्दानी गर्दै आएको भन्दै अब करिब मासिक एकलाखसम्म आम्दानी गर्न सकिने उनले बताए । उक्त सामाग्री गरिबी निवारण कोषले उपलब्ध गराएको कुमालले बताए । उनका अनुसार कोषले तथ्याङ्क राख्नका लागि कम्प्युटर र प्रिन्टर पनि उपलब्ध गराएको छ ।

अहिले माटाका घैटा, गमला, फुलदानी बनाउदै आएको उनले बताए । तर अब बिस्तारै माटाका प्लेट, कप, चियादानीको माग बढ्दो अबस्थामा रहेको उनको भनाई छ ।‘समय परिबर्तनहुदै गएको छ’ उनले भने‘पहिले घैटा, गमला, फुलदानीको माग आउथ्यो । तर अहिले कप, प्लेट, गमलालगायत नयाँ नयाँ कुराको माग हुन थालेको छ ।

युवापुस्ताले चासो दिन छोडे

माटोका भाँडा बनाउने कुमालहरुको पेशालाई संरक्षण गर्न नयाँ पुस्ताले भने त्यति चासो नदेखाएको गुनासो गरे । ‘माटाको भाँडा बनाउने पेशा कुमालको पहिचान हो’ उनले भने‘तर यो पेशा संरक्षणका लागि युवाहरुले चासो दिने गरेका छैनन् ।’ पछिल्लो समय कुमाल समुदायले निर्माण गरेका माटाका भाँडाको माग बढ्दै गएपनि युवाहरुले त्यसमा चासो नदिदा यो पेशा लोप हुने अबस्थामा रहेको उनको भनाई छ । पुरानो पुस्तालाई माटाको भाँडा बनाउने पेशा संरक्षणका लागि बिभिन्न तालिम दिने गरिएको भएपनि युवाहरुले चासो नदिने गरेको उनले बताए । दाङको तुलसीपुर ७ प्रसेनीमा करिब तीन सय कुमाल समुदायको बसाृेबास रहेको छ । ति कुमाल समुदायले पुर्खा देखि नै माटोका भाडा बनाउने पेशा अंगाल्दै आएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्