ओली र प्रचण्डको निर्णय ! इश्वर, रघुविर र बर्षमान माथि कस्तो होला कार्वाही……?



सैघाली खबर/काठमाण्डौँ, १० जेठ।
सत्तारुढ कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपि शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा जुटेका छन् । सरकार गठन भएको एक सय दिनको मूल्यांकन गर्दै कार्यक्षमता देखाउन नसकेका, भ्रष्टाचारमा संलग्न भएका र चरम महत्वाकांक्षा राख्ने मन्त्रीहरूलाई हटाउने तयारी भएको ओली–प्रचण्ड निकट स्रोतले जनाएको छ । समाचार स्रोतका अनुसार यायातामन्त्री रघुवीर महासेठले यो अवधिमा धेरै नै ठूलो भ्रष्टाचार गरेको रहस्य खुलेको छ ।

कर्मचारी तथा मन्त्री महासेठकी श्रीमती जुलीले व्यवसायीसँग सिधै रकम माग्न थालेको सूचना प्रधानमन्त्री ओलीले एक महिनाअघि नै पाए पनि पार्टी एकीकरण नभएसम्म चुप लाग्ने रणनीति बनाएका थिए । यातायातमा देखिएको सिन्डिकेट तोड्ने अभियानमा जुटेर केही हदसम्म सफलता प्राप्त गरेका यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराईलाई मन्त्री महासेठले सजायस्वरूप मन्त्रालय तानेपछि भ्रष्टाचारको पर्दाफास भएको हो ।

महानिर्देशक भट्टराईले सुरुमा मन्त्री महासेठसमक्ष सिन्डिकेट तोड्ने प्रस्ताव लगेका थिए । उनले खासै वास्ता नगरेपछि गृहमन्त्री रामबहादुर थापा बादललाई यो योजना सुनाए । बादलले सहयोग गर्ने बचन दिएपछि सिन्डिकेट विरुद्धको अभियान सफल भयो, तर यो सफलतासँगै नयाँ बसपार्क ठेक्का लिएको ल्होत्से कम्पनीको सिन्डिकेट पनि तोडियो । उक्त कम्पनीले नयाँ बसपार्कबाट अपारदर्शी भाडा उठाउन नपाउने भएपछि मन्त्री महासेठ महानिर्देशक भट्टराईविरुद्ध खनिएका हुन् ।

विगतमा श्रम विभागको महानिर्देशक सरुवा गर्दा श्रममन्त्री सरिता गिरीको जागिर गए जस्तै यतिबेला यातायात विभागका महानिर्देशको सरुवा गरेकै कारण महासेठको जागिर जान लागेको हो । त्यसैगरी, ऊर्जामन्त्री वर्षमान पुन र रक्षामन्त्री ईश्वर पोखरेलको पनि जागिर जान लागेको छ ।

पुनमाथि भारतबाट आयात गर्ने गरिएको वार्षिक डेढ अर्ब युनिट बिजुलीमा प्रतियुनिट एक रुपैयाँ कमिसन लिएको, स्वदेशमा ट्रान्समिसन लाइन निर्माण गर्ने भारतीय ठेकेदारसँग मिलेर काममा ढिलाइ गरी स्वदेशमा उत्पादित बिजुली खेर फालेको, अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास समारोहमा नाटकीय रूपमा उपस्थिति नभएको, नीति तथा कार्यक्रम ल्याउने दिन तय भइसकेपछि महत्वाकांक्षी श्वेतपत्र जारी गरेर अर्थमन्त्रीलाई अप्ठेरोमा पारेकोलगायतका अभियोग छन् ।

रक्षामन्त्री ईश्वर पोखरेललाई त नेपाली सेनाले नै हटाउन दबाब दिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा आफ्नो हुर्मत लिइएका कारण नेपाली सेना रक्षामन्त्री पोखरेलसँग निकै आक्रोशित बनेको हो । यतिखेर प्रधानमन्त्री ओलीसँग समेत पोखरेलको सम्बन्ध राम्रो छैन ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्