समयमै काम नसक्ने ठेकेदारलाई कारवाही गर्ने सरकारको निर्णय ! ठेकेदार भन्छन् दोष सरकारकै, फेरि धम्कि किन ?



समयमै काम सम्पन्न नगर्ने ठेकेदारलाई सरकारले कारबाही गर्ने तयारी गरिरहँदा निर्माण व्यवसायीहरुले भने तोकिएको समयमा काम गर्न नसक्नुको दोष सरकारलाई नै दिएका छन् । सरकारकै कारण समयमै काम नसकिएको दावी गर्दै उनीहरुले कारबाहीको धम्की दिएर सरकारले आफूहरुलाई आतंकित पारेको बताएका छन् । जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा गोरखाका निर्माण व्यवसायी र जिल्लामा काम गरिरहेका अन्य व्यवसायीले नदीजन्य बस्तुको अभावका कारण काम गर्न अप्ठ्यारो परेको बताएका हुन् ।

मध्यपहाडी लोकमार्ग अन्तर्गत आरुघाट निवेल खण्डको काम गरिरहेका व्यवसायी सूर्यबहादुर खड्काले अन्य जिल्लाको तुलनामा गोरखामा नदीजन्य बस्तु संकलनमा कडाई गरिएको भन्दै त्यसलाई खुकुलो बनाउन आग्रह गरे । सहज रुपमा नदिजन्य बस्तु नपाए ठेक्का छोडेर भाग्ने बाहेक अन्य उपाय नरहेको खड्काको भनाई छ । ‘तपाईहरुकै जिल्लाको विकास हुने हो, नदीजन्य बस्तु झिक्न सजिलो बनाइदिनुस्, हामी बाँकी काम समयमै पूरा गर्छौं’ खड्काको दावी छ ।

यस्तै, निर्माण उद्योग परिषदका केन्द्रीय अध्यक्ष समेत रहेका खोपनिधी लोहनीले भूकम्प, नाकावन्दी र चुनावका कारण निर्माणको काम समयमै सम्पन्न गर्न नसकिएको दावी गरे । उनको निर्माण कम्पनी लोहनी एण्ड ब्रदर्शले ११ किलो वारपाक सडक अन्तर्गत ८ किलोमिटर सडक कालोपत्रेको काम गरिरहेको छ । तर सम्झौता अवधी सकिसक्दा सो कम्पनीले जम्मा ३० प्रतिशतमात्रै काम सकेको छ । “नदीजन्य बस्तु कसैको पेवा होइन, देशका सबै नागरिकको साझा सम्पत्ति हो” प्रजिअ समक्ष उनले भने, “अन्त कहीँ नभएको नियम यहाँ चाहिँ किन चाहियो ?” चाहे अनुसार ढुंगा र वालुवा संकलन गर्न पाउनु पर्ने लोहनी बताउछन् ।

दलहरुलाई चन्दा दिँदादिदै निर्माण व्यवसायीहरु हैरान भएको भन्दै लोहनीले अहिले आएर कारबाहीको धम्की दिनु नाजायज भएको बताए । काम गर्ने उपाय पनि नभएको र भाग्ने ठाउँपनि नभएकाले व्यवसायीहरुलाई आत्महत्या गर्ने अवस्था आउन नदिन उनले आग्रह गरे । निर्माण व्यवसायी संघ गोरखाका अध्यक्ष बाबुराम श्रेष्ठले समयमै निर्माणको काम गर्न नसकिनुको कारण पत्ता लगाएर समाधानको उपाय खोज्न आग्रह गरे ।

संघका उपाध्यक्ष उत्तम भट्टले समयमै निर्माणको काम सकेर सरकारलाई हस्तान्तरण गर्ने चाहना हुँदाहुँदै विभिन्न कारणले नसकिएको बताए । छलफलमा सहभागी धेरैजसो व्यवसायीले नदीजन्य बस्तुको सहज उपलब्धता नहुँदा निर्माणको काममा अप्ठ्यारो परेको बताए पनि स्थानीय समन्वय अधिकारी नारायण आचार्यले भने त्यसलाई मात्रै दोष देखाएर उम्कने अवस्था नरहेको बताएका छन् ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्