सैघाली खबर/काठमाण्डौँ, १० जेठ।
वन्यजन्तुको बासस्थानको क्षेत्र घट्नु, वन्यजन्तुको आहारामा कमी आउनु, वन डढेलोको दर बढ्नु, मानिसमा जाग्ने बदलाको भावनाका कारण मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दै गएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार २०७४ साउनदेखि चैतसम्म बाघ, हात्ती र गैँडाको आक्रमणबाट पर्सा राष्ट्रिय निकुञ्जमा चार, कोशीटप्पु वन्यजन्तु आरक्षमा चार र चितवन राष्ट्रिय निकुञ्जमा दुई जना मानिसको ज्यान गएको थियो ।
यस अवधिमा वन्यजन्तुको आक्रमणमा परी ३३ जना मानिस घाइते भएका र यही कारणले विभिन्न प्रजातिका १९३ वन्यजन्तु मारिएका विभागका अनुसन्धान अधिकृत सुष्मा रानाले जानकारी दिए । विभागको तथ्याँकअनुसार आर्थिक वर्ष २०७३÷७४ मा देशभर मानव–वन्यजन्तु द्वन्द्वको कारण २२ जना मानिसको मृत्यु भएको थियो भने अन्य ४३ जना घाइते भएका थिए । यस अवधिमा मानव वन्यजन्तु द्वन्द्वका कारण विभिन्न प्रजातिका ३२६ वन्यजन्तु मारिए भने २७१ घरगोठ, २७७ पशुधन र १७१ स्थानमा अन्नबाली नोक्सान भयो ।
बाघ, गैँडा, हात्ती, चितुवा, बँदेल, जंगली ब्वाँसो, हिमाली कालो भालु, हिउँ चितुवाजस्ता वन्यजन्तुबाट संरक्षण क्षेत्र र मध्यवर्ती क्षेत्रमा सो क्षति भएको हो । पछिल्लो समय मध्यवर्ती क्षेत्र र संरक्षित क्षेत्र वरपर बढ्दो जनघनत्व एवं अव्यवस्थित भू–उपयोगका कारण वन्यजन्तुको बासस्थानमा भएको क्षयीकरण एवं संकुचनले गर्दा वन्यजन्तु आफ्नो वासस्थान छोडी गाउँ बस्तीमा पस्ने गरेको पाइन्छ । यसबाट वन्य जन्तुका अतिरिक्त निकुञ्ज र आरक्ष वरिपरि बसोबास गर्ने समुदायको कृषि बाली नोक्सानी हुनुका साथै मानवीय क्षति वृद्धि हुँदै गएको फलस्वरुप क्षतिपूर्ति भुक्तानीमा समेत वृद्धि भएको छ ।
सरकारले मानव–वन्यजन्तु द्वन्द्वमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई राहतस्वरुप १० लाख र घाइतेको उपचारका लागि आवश्यक खर्चसमेत प्रदान गर्ने गरेको छ । पछिल्लो समयमा बर्दिया राष्ट्रिय निकुञ्ज र कोशीटप्पु वन्यजन्तु आरक्षमा हात्तीको आक्रमण बढेको विभागले जनाएको छ । विभागले मानव–वन्यजन्तु द्वन्द्वलाई न्यून गर्ने कार्यलाई प्राथमिकतामा राखेको विभागका महानिर्देशक मनबहादुर खड्काले जानकारी दिए ।।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।