क्रिकेटको संरचना फेरिँदै गएकोमा गर्व लागेको छ : लामिछाने ।।



सैघाली खबर/काठमाण्डौँ, १० जेठ।
नेपाली क्रिकेटका युवा स्टार सन्दीप लामिछानेले एक दिवसीय मान्यता पाएको अवस्थामा नेपालमा धेरैभन्दा धेरै एकदिवसीय क्रिकेट प्रतियोगिता आयोजना हुनुपर्नेमा जोड दिएका छन् । नेपाली राष्ट्रिय टोली तथा इण्डियन प्रिमियर लिग क्रिकेटमार्फत आफ्नो प्रतिभा प्रदर्शन गरेका सन्दीपले घरेलु संरचना, क्रिकेट मैदान, उचित योजना र क्यालेन्डर बनाएमा क्रिकेटको विकास हुने बताए ।

‘नयाँ प्रतिभा र भर्खरै नेपालका लागि डेब्यू गरेका खेलाडीहरुले यस्ता प्रतियोगिता खेल्नाले आत्मविश्वास बढ्नुका साथै एक अर्काका बारेमा जान्ने मौका पाइन्छ । जसले अन्तर्रा्ष्ट्रिय प्रतियोगितामा समेत सहयोग प्रदान गर्दछ,’ सन्दीपले भने । आउँदो आइतबारदेखि पहिलो पटक आयोजना हुन लागेको अन्तर प्रदेश एकदिवसीय क्रिकेट प्रतियोगितामा खेलाडीले पनि आफ्नो कमजोरी र बलियो पक्ष पहिल्याउने राम्रो माध्यम बन्न सक्ने बताए ।

घरेलु संचरना र प्रतियोगिताको अभावमा अहिलेसम्म राष्ट्रियस्तरको प्रतियोगिता खेल्ने मौका नपाएका सन्दीपले ओडीआई स्टेटस पाएपछि राष्ट्रिय खेलकुद परिषदले आयोजना गर्न लागेको प्रतियोगिता क्रिकेट खेलाडीका लागि यो ठूलो मौका भएको र क्रिकेटको संरचना फेरिँदै गएकोमा गर्व लागेको पनि बताए । उनले आयोजक, खेलाडी साथै सबै टिमलाई शुभकामना पनि दिए ।

प्रधानमन्त्री कप एक दिवसीय प्रतियोगिता जस्ता प्रतियोगिताहरु नियमित रुपमा हुने हो भने क्रिकेटमा आउन चाहने धेरैको भविष्यको खोज्ने माध्यम बन्न सक्ने सन्दीपको भनाई छ । राष्ट्रिय खेलकुद परिषदको आयोजनामा हुने प्रतियोगिताका खेलहरु त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान र मूलपानी मैदानमा हुनेछन् । प्रतियोगितामा सात प्रदेशका टिमसँगै तीन विभागीय गरी १० टिमले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले २० लाख रुपैयाँ पुरस्कार जित्नेछ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्