दुर्गममा ‘चार्टर फ्लाइट’ बन्द



सैघाली खबर
बाँके , १० जेठ । सात बर्षपछि भाडादर पुनरावलोकन गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले दुर्गम क्षेत्रमा हुने ‘चार्टर फ्लाइट’ बन्द गरेको छ ।

कर्णाली लगायत दुर्गम क्षेत्रका लागि नेपालगन्जबाट हुने विमानहरुको ‘चार्टर फ्लाइट’ आजबाट बन्द हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सात बर्षपछि त्यस क्षेत्रको उडान भाडादर पुनरावलोकन गरी सेडुअल फ्लाइट मात्र अनिवार्य गरेपछि चार्टर फ्लाइट बन्द हुने भएको हो ।

 

‘विमान कम्पनीसँगको समझदारीमा चार्टर फ्लाइट बन्द गर्ने निर्णय गरिएको हो’, नेपाल नागरिक उड्डयन प्राधिकरण नेपालगन्जका प्रमुख प्रताप बाबु तिवारीले दैनिक नेपालगन्जसँग भने, ‘यससँगै कर्णाली लगायतका दुर्गम क्षेत्रको भाडादर पुनरावलोकन पनि गरेका छौं ।’ पुनरावलोकनका लागि प्राधिकरणले दुर्गम क्षेत्रको आन्तरिक भाडादर कायम गर्न गरेको सिफारिस संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत बैशाख २६ गते मन्त्री स्तरीय निर्णयबाट स्वीकृत गरेको थियो ।

‘अब उप्रान्त नियमित उडानको भाडादरमै यात्रुहरुले सेवा पाउनेछन्’, प्राधिकरणका प्रमुख तिवारीले भने, ‘चार्टर उडान बन्द गर्न वायु सेवा कम्पनीहरुसँगै सहमति लिएका छौं ।’ कर्णाली लगायत दुर्गम क्षेत्रमा बर्षौदेखि नियमित उडान भर्दै आइरहेको तारा एयरका नेपालगन्ज स्थित स्टेशन प्रमुख दिलिप कार्कीले यात्रुहरुलाई सेडुअल फ्लाइटबाटै सेवा प्रवाह गरिने जानकारी दिंदै भने, ‘चार्टर फ्लाइट बन्द गरिएको छ ।’ तर, विदेशी यात्रु वा निजी स्तरबाट कसैले चार्टर गर्न चाहेमा त्यसका लागि कुनै रोकटोक नहुने कार्कीको भनाइ छ ।

‘सेडुअल फ्लाइट छैन भनेर चार्टरमा यात्रुहरुलाई जान बाध्य पार्ने अवस्था अन्त्य भएको हो’, प्राधिकरण प्रमुख तिवारीले चार्टर वा सेडुअल फ्लाइटको भाडादर बराबर गरिएकाले यात्रुहरुलाई सहुलियत हुने निश्चित भएको जानकारी दिंदै भने । उनका अनुसार, चार्टरका नाममा कमिसनमा जाने पैसा नै यात्रुले सहुलियत वापत पाउने भएकाले विमान कम्पनीलाई पनि नोक्सान हुने तिवारीको भनाइ छ ।

प्राधिकरणका अनुसार, नेपालगन्जदेखि सिमकोटको भाडादर ७ हजार १ सय ९०, नेपालगन्ज–डोल्पा ५ हजार ३ सय १० तोकेको प्राधिकरणले राराका लागि ५ हजार ८ सय ४० र नेपालगन्जदेखि जुम्ला र बाजुराका लागि ५ हजार ४ सय ४० प्रतिव्यक्ति एकातर्फी भाडादर तोकेको छ । यसअघिको सहुलियत भाडादरमा यो रकम ३५ प्रतिशतले बढी हो । ‘चार्टर उडान भन्दा ३२ प्रतिशतले कम हो’, प्राधिकरण प्रमुख तिवारीले भाडादर बारे भने, ‘वायुसेवाले चार्टर उडानमा लगाउने भाडादरमा एजेन्टलाई दिने कमिशन संलग्न हुँदा सहुलियत भाडादर भन्दा चार्टरको उडान दोब्बर थियो ।’

प्राधिकरणको नेपालगन्ज स्थित कार्यालयले सहुलियत उडान भएका दिन पहिले सहुलियत उडान गरेर मात्र चार्टर उडान भर्ने व्यवस्था मिलाएको जनाएको छ । ‘अब नियमित उडान मात्र हुने भएकाले यात्रुहरु सिधै एयरलाइन्स टिकट काउन्टरमा गई टिकट लिएर मात्र यात्रा गर्न सक्नुहुनेछ’, प्राधिकरणले जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘कुनै गुनासा भए सोझै कार्यालयमा सम्पर्क गर्नुस् ।’

सिता, तारा र सुमित एयरले कर्णाली लगायतका दुर्गम क्षेत्रमा नेपालगन्जबाट नियमित उडान भर्दै आएका छन् । प्राधिकरणका अनुसार, पछिल्लो एक बर्षमा नेपालगन्जबाट दुर्गम क्षेत्रका ४१ हजार उडान भरिएका छन् । ‘सरदर आठ हजार फ्लाइट मात्र सेडुअलका होलान्’, ३३ हजार चार्टर उडान भएको तथ्यांक दिंदै प्राधिकरण प्रमुख तिवारीले भने, ‘यी उडानमा यात्रुहरुले दोब्बर रकम तिरेर यात्रा गर्नुपर्ने बाध्यता थियो ।’

अब नियमित उडान कम हुने जोखिम त हुँदैन रु प्राधिकरण प्रमुख तिवारीले ३५ प्रतिशत भाडा वृद्धि भएकाले विमान कम्पनीहरुलाई नोक्सान नहुने तर्क गर्दै भने, ‘उडान नहुने भन्ने सवाल नै छैन ।’ तिवारीले यात्रुहरुले नियमित र सहज उडान हुने भएकाले दुर्गम जिल्लाका उडान सम्बन्धी समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्