झापाको एक विद्यालयमा दलितलाई भर्ना नलिदा दलित समुदाय आन्दोलित



झापा

शिक्षित र सभ्य   समाज बसोवास गर्ने झापामा जातीय विभेद कायमै रहेको पाइएको छ ।  भद्रपुरको कृष्ण दै्रपायन गुरुकुल वेद विद्याश्रमले दलित विद्यार्थीलाई अध्ययनमै निषेध गरेपछि झापामा जातीय छुवाछुत जिवितै रहेको प्रष्ट भएको हो ।

विद्यार्थी निषेधपछि झापाका दलित अधिकारकर्मीहरुले एकसातादेखि पाठशालामा तालाबन्दी गरेका छन्। इलाम नगरपालिका–५ बरबोटेका विकास कार्कीडोली (दर्जी) लाई गुरुकुलले भर्ना लिनै नमानेपछि दलित अधिकारकर्मीहरुको टोलीले तालाबन्दी गरेको थियो।
नेपाल राष्ट्रिय उत्पीडित विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष टिकाराम मंग्रातीले दलितहरुले जुन सुकै विद्यालय र संस्कृत पाठशालाहरुमा पढ्न पाउने नैसर्गिक अधिकारलाई भद्रपुरको संस्कृत पाठशालाले उल्लंघन गरेको भन्दै यस्तो पाठशालालाई कारवाहीका लागि सम्बद्ध निकायसँग माग गरे।
गुरुकुलले दलित विद्यार्थीलाई संस्कृत विद्यालयमा भर्ना लिन नमानेपछि जातीय विभेद गरेको निष्कर्ष निकाल्दै विभिन्न संघ संगठनले दुवै पक्षबीच छलफल गरेर समाधान निकाल्ने प्रयास गरेको थियो। बिहीबार विद्यार्थी संगठन, दलित अधिकारकर्मी, युवा संघ नेपाल, अनेरास्ववियू र गुरुकुल सञ्चालक समितिबीच समाधानको लागि छलफल गरिएको थियो।
छलफलमा युवा संघ नेपालका केन्द्रीय सदस्य त्रिलोचन सापकोटाले दलित विद्यार्थीलाई भर्ना गर्न अस्वीकार गर्नु जातीय विभेद भएको दावी गरेका छन्। उनले नेपालको संविधानमा जातीय विभेद गर्नु सामाजिक अपराध भएको उल्लेख गर्दै समाज रुपान्तरणको अभियानमा जातीय विभेद गलत संस्कार भएको बताए। सापकोटाले भने,‘तत्काल विद्यार्थीलाई पठनपाठनको वातावरण सिर्जना गरियोस्।’
गुरुकुल सञ्चालक समितिका अध्यक्ष राजेन्द्र चापागाईँले अहिलेसम्म दलित विद्यार्थी भर्ना गर्नका लागि कोही नआएकाले यस्तो अभ्यास नगरेको प्रतिक्रिया दिएका छन्। उनले विधानमा व्यवस्था भए अनुसार गुरुकुल सञ्चालन गर्नुपर्ने भएकाले भर्ना लिन समस्या भएको बताए ।
प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले दलित विद्यार्थीलाई दुई दिनभित्र आवसीय रुपमा भर्ना गर्न विद्यालयलाई गरेको आग्रहलाई समेत विद्यालयले लत्याइदिएको छ। तर, विद्यालय सञ्चालकले बरु जेल जान आफूहरु तयार रहेको तर दलितलाई गुरुकुलमा कुनै हालतमा भर्ना गर्न नसकिने बताएका छन ।
यसैबीच दलित अधिकारवादी संस्था उत्पीडित अधिकार मञ्चको अगुवाईमा संस्कृत पाठशालाको खारेजीका साथै सञ्चालक समिति अध्यक्ष राजेन्द्र चापागाईँ र प्राचार्य राजन तिवारी विरुद्ध जातीय छुवाछुतजन्य अमानवीय व्यवहार गरेकोले जातीय छुवाछूत तथा भेदभाव ( कसुर र सजाय) ऐन २०६८ बमोजिम हदैसम्म कारबाहीको माग गर्दै मुद्दा दायर भएको छ ।kantipur

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्