विद्युतीय–हाजिरीले शिक्षाको गुणस्तर सुधार गर्न सक्ला त ?



सैघाली खबर/बाँके, ११ जेठ।
बाँकेको डुडुवा गाउँपालिकाका सामुदायिक विद्यालयमा विद्युतीय–हाजिरी सुरु भएको छ । शिक्षाको गुणस्तर सुधार तथा शिक्षक नियमितताका लागि विद्यालयहरुमा विद्युतीय–हाजिरी मेसिन जडान गरिएको हो । गाउँपालिका भरीका ४१ वटा विद्यालय सञ्चालनमा रहेकोमा पहिलो चरणमा १० वटा विद्यालयमा विद्युतीय–हाजिरी जडान गरिएको छ । पहिलो चरणमा जडान गरिएको विद्युतीय मेसिनको प्रभावकारिताका आधारमा आउने वर्षमा सबै विद्यालयमा मेसिन जडान गर्ने गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले बताए ।

विद्युतीय–मेसिन जडान भएपछि शिक्षक समयमा आउने, विदा, काजमा बस्ने पूरा समय विद्यालयमा बस्नमा मद्दत पुग्ने भएकाले शिक्षाको गुणस्तरमा वृद्धि भई सुधार आउने अपेक्षा गरिएको प्रमुख चौधरीको भनाइ छ । डुडुवा गाउँपालिकाका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लका अनुसार, विद्यालयलाई मेसिन हस्तान्तरण गर्नुअघि शिक्षकहरुलाई यसको प्रयोग तथा उपयोगिताका विषयमा तालिमसमेत प्रदान गरिएको छ ।

मेसिन जडानपछि साप्ताहिक रुपमा अनुगमन गरि मासिक रुपमा प्रतिवेदनका आधारमा शिक्षकहरुलाई पारिश्रमिक उपलब्ध गराइने गाउँपालिका शिक्षा शाखाले जनाएको छ । पहिलो चरणमा शहिद स्मारक मावि, बनकटी, नेरा प्रावि अमरहवा, जनता आधारभुत विद्यालय पिप्रहवा, सरस्वती मावि भंघोटना, पशुपति मावि नौरीगोरी, ज्ञानदीप मावि डलैपुर, आधारभुत विद्यालय शाहपुर्वा, नेरा प्रावि सन्तलिया र अल्जामिया मदरसालाई विद्युतीय–हाजिरी मेसिन उपलब्ध गराइएको छ ।

पछिल्लो समय शिक्षकहरु विद्यालयमा नियमित नआउने, समयमा नआउने, अन्यत्र काममा व्यस्त रहने, पूरा समय अध्यापन नगराउने, समस्याले शिक्षाको गुणस्तरीयतामा प्रभावकारिता नदेखिएको भन्दै गाउँपालिकाले त्यसको सुधारका लागि विद्युतीय–हाजिरी संचालनमा ल्याएको हो ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्