अब बिहेमा ४० ग्रामभन्दा बढी सुन दिन नपाइने, रू ५ सयबढीकाे उपहार दिन नमिल्ने



सैघाली खबर,

काठमाडौं । बिहे गर्दा चर्को रूपमा सुन, गर(गहना दाइजो दिनुपर्ने विकृति न्यूनीकरण गर्न गृह मन्त्रालयले नयाँ व्यवस्था गर्न लागेको छ। बिहेमा दुलाहा पक्षले दुलहीलाई बढीमा ४० ग्राम र दुलही पक्षले दुलाहालाई बढीमा २० ग्राम सुन दिन मिल्ने विधेयक गृह मन्त्रालयले तयार पारेको छ।

बिहेमा हुने तडगभडक तथा विकृति न्यूनीकरणका लागि भन्दै मन्त्रालयले नयाँ ऐन ल्याउने तयारी गरेको हो। बिहेमा दिइने महंगा उपहारमाथि पनि नियन्त्रण गरिन लागेको छ । अब विवाहमा बोलाइएका व्यक्तिले ५ सय रुपैयाँ वा सो बराबरको मात्र उपहार दुलाहा वा दुलहीलाई दिन पाउने व्यवस्था उक्त विधयेकमा गरिएको छ।

जन्तीको मामलामा पनि दुलाहा पक्षबाट २५ र दुलही पक्षबाट ३५ जना मात्र जन्ती जान पाउने व्यवस्था उक्त एेनले गर्दै छ । त्यस्तै बिहे भोजमा २ सय ५० र सामाजिक भोजमा १ सय जनासम्मलाई बोलाउन पाइने व्यवस्था समेत विधेयकमा रहेको छ । साथै विवाह र अन्य भोजभतेरको खर्च विवरण १५ दिन भित्र स्थानीय तहमा बुझाउनु पर्ने व्यवस्था विधेयकमा छ।

सो विधेयक पास भएमा तोकिएको भन्दा बढी सुन दिएको थाहा पाए सुन नै जफत वा ३ महिना जेल सजाय हुने, बढी जन्ती लिनेलाई पचास हजार रुपैयाँसम्म जरिवाना हुने, सार्वजनिक पद धारण गरेको व्यक्तिले यो व्यवस्थाको उल्लंघन गरे थप २५ प्रतिशत सजाय हुनेछ ।

मन्त्रालयले बनाएको मस्यौदा आवश्यक परिमार्जन गर्न कानून मन्त्रालयमा पठाइएको छ । सामाजिक व्यवहारमा भड्किलो प्रदशन गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्न नयाँ ऐन ल्याउनु परेको मन्त्रालयले जनाएको छ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्