मंगलबारदेखि अस्पतालमा उपचार सेवा ठप्प, पटक–पटक किन हुन्छ आन्दोलन ?



सैघाली खबर/पोखरा, १२ जेठ।
पोखराको फूलबारीमा रहेको मणिपाल शिक्षण अस्पतालमा उपचार सेवा ठप्प भएको छ । अस्पताल प्रशासनले ४ जना कर्मचारीलाई भ्रष्टाचार र कार्टे्लिङ्ग गरेको आरोपमा निष्काशन गरेपछि सुरु भएको कर्मचारीको आन्दोलनका कारण उपचार सेवा ठप्प भएको हो । अस्पतालको फार्मेसीमा कार्यरत रमेश बोहोरा, नीलकण्ठ भट्टराई, टेकबहादुर विक र लेखामा कार्यरत अल्पना ठाकुरलाई अस्पताल प्रशासनले निष्काशन गरेको हो ।

अस्पतालका निर्देशक विजय सिंहका अनुसार गुनासो आएपछि छानविन गर्दा चारैजना दोषी देखिएकोले सेवाबाट निष्काशन गरिएको थियो । तर यसको विरोधमा अस्पतालमा कार्यरत कर्मचारीहरु एक भई आन्दोलन गर्दा अस्पतालमा गएको मंगलबारदेखि उपचार सेवा प्रवाह हुन सकेको छैन । इमरजेन्सी सेवा खुल्ला भए पनि कर्मचारी नहुँदा उपचार हुन सकेको छैन ।

अस्पतालबाट निकालिएका कर्मचारीहरुले आफूहरु साना कर्मचारी भएको र उपल्लो तहकाको आदेशमा मात्रै काम गरिएकोले आफूहरुले कुनै भ्रष्टाचार नगरेको तथा गर्न सक्ने अवस्था पनि नरहेको बताउँदै आएका छन् । मणिपालको सेवा सुचारु गर्ने बारेमा अझै कसैले चासो देखाएका छैनन् । अस्पताल प्रशासन पनि चुप लागेको छ ।

स्थानीय बासिन्दाले जिल्ला प्रशासन र प्रहरीलाई सेवा सुचारु गर्न पहल गरेका भए पनि वास्ता नगरेको मणिपाल शिक्षण अस्पताल रहेको वडा नम्बर ११ का वडाध्यक्ष मोहन बास्तोलाले बताए । ‘हामीले जिल्ला प्रशासनलाई समेत गुहार र्गयौँ तर कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले मलाई होइन, प्रदेश सरकार र नगरपालिकालाई भन्नुस् भनेर तर्कनुभयो’, वडाध्यक्षले बताए । मणिपाल शिक्षण अस्पतालमा यस अघि पनि कर्मचारीको आन्दोलनको कारण ९ महिना उपचार सेवा अवरुद्ध भएको थियो ।।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्