गुडिरहेको बसमा एक्कासि आगो, बस पूर्ण रुपमा जल्दा यात्रुको अवस्था……



सैघाली खबर/बाँके, १२ जेठ।
काठमाडौंबाट डडेल्धुराको लागि छुटेको यात्रुवाहक बसमा गुडिरहेकै अवस्थामा आगो लागेको छ । शुक्रबार कोहलपुरको बासगढी नजिकै उग्रतारा यातायातको बा ४ ख ८४९२ नम्बरको बसमा आगलागी भएको हो । ओभरट्याक गर्ने क्रममा बसको अगाडिको चक्कामा लागेको आगो फैलँदा बस पूर्ण रुपमा जलेको छ । अगाडिको चक्काबाट लागेको आगोले केही क्षणमा भयानक रुप लिए पनि यात्रु भने सकुशल छन् । बसमा कति यात्रु थिए भन्नेबारे केही खुलाइएको छैन ।

गाडीमा भएका यात्रुहरुका समान पनि गाडीसँगै जलेका छन् । दमकल समयमा नपुग्दा गाडी पूर्णरुपमा जलेको बताइएको छ । नेपालमै पहिलोपटक डडेल्धुराको उग्रतारा सार्वजनिक यातायातले केही महिनाअघि शौचालय र चमेनागृहसहितकोे अत्याधुनिक बस सञ्चालनमा ल्याएको थियो । गुडिरहेकै अवस्थामा बसमा कमै मात्र आगलागी हुन्छ ।

यसअघि गत माघ २४ गते काभ्रेको धुलिखेलमा पनि गुडिरहेकै अवस्थामा बसमा आगो सल्केको थियो । बनेपाबाट भकुण्डेबेंसीतर्फ जाँदै गरेको हिमाल तराई यातायातको बा ३ ख ३२७० नम्बरको बसमा सल्केको आगोले बस क्षतिग्रस्त भए पनि यात्रु भने जोगिन सफल भएका थिए ।

त्यसैगरी, ०७३ वैशाख १८ गते नेपालगञ्जबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा १ ख ६९५ नम्बरको यात्रुवाहक बसमा पनि आगो सल्केको थियो । तर आगो फैलन नपाउँदै प्रहरी तथा स्थानीयले नियन्त्रणमा लिएका थिए । आगोले जल्दा छतमा राखिएका सात मोटरसाइकल र सामान नष्ट भएका थिए ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्