आर्थिक

मलेसिया जानका लागि गरिने पुर्व श्रम स्वीकृति बन्द, नयाँ कामदार छनौट प्रक्रिया पनि अबरुद्ध ।।

By थाहा अनलाइन

May 26, 2018

 

सैघाली खबर/काठमाण्डौँ, १२ जेठ। बैदेशिक रोजगारीको लागि मलेसिया जाने कामदारहरुका लागि लिइने पुर्व श्रम स्वीकृति बन्द भएको छ । श्रम मन्त्रालयले पुर्व श्रम स्वीकृति बन्द गर्न सुचना जारी गरेपछि श्रम विभागले पुर्व श्रम स्वीकृति बन्द गरेको हो । श्रम मन्त्रालयले बैदेशिक रोजगारीमा जाने कामदारहरुलाई आर्थिक भार पार्ने काम गरिरहेको भन्दै जिएसजी, माइग्राम, बायोमेटिक, ओएससी लगायतका संस्थाहरु खारेज गरेपछि पुर्व श्रम स्वीकृति बन्द भएको हो ।

यसैबीच नयाँ कामदार छनौट प्रक्रिया अबरुद्ध भएको छ । मलेसिया दैनिक ३ सयदेखि ४ सय नेपाली कामदार गइरहेका छन् । यस विषयमा सरकारले कुटनीतिक पहल गरिरहेको जनाएको छ । यसरी कामदार पठाउने प्रक्रिया रोकिएको भन्दै नेपाल वैदेशिक रोजगार ब्यवसायी संघले गाँठो चाँडोभन्दा चाँडो फुकाउन सरकारसँग आग्रह गरेको छ ।

संघका अध्यक्ष रोहन गुरुङले कामदार पठाउने प्रक्रिया रोकिन नहुने गरी अब सरकारले कदम चाल्नु पर्ने बताए । एक पक्षीय ढंगबाट मलेसिया जान ३९ वटा स्वास्थ्थ संस्थामा स्वास्थ्य परीक्षण गर्न तोकिएको र त्यसलाई हटाइ स्वास्थ्थ मन्त्रालयले तोकेका र मन्त्रालयमा सुचीकृत भएका स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गर्ने ब्यवस्था मिलाइने श्रम मन्त्री गोकर्ण विष्टले बताएका छन् ।

त्यस्तै अवैध रुपमा माइग्राम संस्था दर्ता भएको भन्दै मन्त्री विष्टले त्यसका लागि १२५ मलेसियन रिंगिट दर उठाउने काम गैरकानुनी भएको भन्दै त्यसलाई पनि खारेज गरिएको बताए । ‘मलेसियामा पनि सरकार परिवर्तन भएको छ, कामदारलाई आर्थिक भार पर्ने निर्णय हटाइएकोमा मलेसियन सरकारले पनि साथ दिन्छ भन्ने हाम्रो विश्वास छ’, मन्त्री विष्टले भने ।।