ओमानमा सामुन्द्रिक तुफान, नेपालीको यस्तो छ अवस्था ।।



सैघाली खबर, १२ जेठ।
ओमानको सललामा साइक्लोन मेकुनु नामक सामुद्रिक तुफानका कारण एक जनाको ज्यान गएको छ । सयौं प्रभावित भएका छन । सामुन्द्रिक तुफानका कारण सडक तथा बस्तीहरुमा बाढी आएको छ । हावाहुरीसहित सामुन्द्रिक छाल सडक तथा बस्तीहरुमा छिरेकाले सयौं प्रभावित भएको स्थानीय प्रशासनले जनाएको छ ।

अहिलेसम्म एक १२ बर्षिया बालिकाको ज्यान गएको छ । तीन जना घाइते भएको रोयल पुलिस अफ ओमानले जनाएको छ । तुफानका कारण आएको बाढीबाट जोगाउन धेरैजसो कम्पनीका क्याम्पहरुबाट कामदारलाई विद्यालय तथा अन्य खुल्ला क्षेत्रमा सारिएको छ । शुक्रबार साँझबाट सुरु भएको तुफानले शनिबार ओमानको दक्षिणी भागमा क्षति पुर्याएको हो ।

ओमानमा कार्यरत झन्डै २० हजार नेपालीमध्ये १३ हजार नेपाली सोही क्षेत्रमा काम गर्छन् । धेरै घरेलु महिला तथा त्यहाँका सरकारी कार्यालय (दिवान)हरुमा काम गर्ने नेपालीहरु पनि सोही क्षेत्रमै रहेको एनआरएन ओमानका अध्यक्ष दिपक श्रेष्ठले बताए । ‘घरको तेस्रो तलासम्म डुबेको छ, हावा हुरी बर्षा र छालले मानिसहरु आत्तिएका छन, ओमानको प्रहरी तथा बिभिन्न निकायका प्रतिनिधि उद्दारमा खटिएका छन’ एनआरएन ओमान सललाका संयोजक टिका दाहालको भनाई छ ।

नेपाली सुरक्षित, दूतावासको हटलाइनसहित २४ घण्टा सेवा : दूतावास
नेपाली दूतावास ओमानले सललामा रहेका सबै नेपाली सुरक्षित रहेको जनाएको छ । सामुन्द्रिक तुफान आउन सक्ने सम्भावित खबर बारे दुई दिन पहिलेनै सार्वजनिक रुपमा जानकारी गराएको र स्थानीय प्रसाशनसँगको समन्वयमा संयन्त्र बनाएर काम गरेकाले अहिलेसम्म कुनै नेपालीलाई क्षति नपुगेको ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले जानकारी दिईन् । सललाको प्रभावित क्षेत्रमा अत्यावश्यक तथा दैनिक उपभोग्य क्षेत्र बाहेक अन्यमा सार्वजनिक बिदाको घोषणा गरिएको छ ।

‘धेरै नेपालीले दूतावासको हटलाइनमा फोन गरेर आफूहरुलाई पर्न सक्ने जोखिम बारे बताइरहनु भएको छ,’ राजदुत ढकालले भनिन् ‘हामीले त्यो क्षेत्रमा रहेका अन्य देशका नियोगका प्रतिनिधि , ओमानको स्थानीय प्रसाशन तथा उद्दार संयन्त्रसँग मिलेर काम गरिरहेका छौं ।’ सामुन्द्रिक तुफानका कारण दूतावास प्रतिनिधि रातभरी पनि कार्यालय तथा टेलिफोन सेवामा रहेको दुतावासले जनाएको छ । कोही नेपालीलाई समस्या परे तत्काल सम्पर्क गर्न पनि दूतावासले आग्रह गरेको छ ।।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्