बसको ठक्करबाट तीन जनाको मृत्यु



सैघाली खबर,
जेठ १३, तनहुँ । बसको ठक्करबाट तनहुँमा तीन जना युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारीअनुसार मोटरसाइकलमा चार जना सवार गरिरहेकामध्ये दुई जनाको शनिबार राति नै घटनास्थलमा र एक जनाको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । दुर्घटनामा परी घाइते भएका एकको भने उपचार भइरहेको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा पर्सा जिल्ला सेरवा गाउँपालिका–३ बस्ने २० वर्षीय राज राय, सोही स्थान निवासी २१ वर्षीय धिरज चौधरीको शनिबार राति घटनास्थलमा नै मृत्यु भएको हो । अर्का घाइते भएका २२ वर्षीय सञ्जय चौधरीको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा आज विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।
पोखराबाट काँकरभिट्टातर्फ जाँदै गरेको ना५ख ३०८२ नंको बसले विपरीत दिशामा गुडिरहेको ना५५प १५९४ नंको मोटरसाइकललाई पृथ्वीराजमार्गअन्तर्गत व्यासनगरपालिका–१२ स्थित कमलबारीमा ठक्कर दिँदा उक्त दुर्घटना भएको हो । मोटरसाइकलमा सवार २१ वर्षीय भोला चौधरीको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ । मृतक दुई जनाको शव दमौली अस्पतालमा र एक जनाको गण्डकी मेडिकल कलेज पोखरामा परीक्षणका लागि राखिएको प्रहरीले जनाएको छ ।
उक्त बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक मल्लले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्