प्रदेश ३

प्रधानमन्त्रीको जवाफमा मधेसवादी दल विभाजित, नागरिकता र संविधान संशोधबारे ओलिको जवाफ……

By थाहा अनलाइन

May 27, 2018

सैघाली खबर, काठमाण्डौँ, १३ जेठ। सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको जवाफमा चित्त बुझाउने सन्दर्भमा मधेसवादी दल विभाजित भएका छन् । संघीय समाजवादी फोरमले प्रधानमन्त्रीको जवाफबाट आश्वस्त भएपछि नीति तथा कार्यक्रममाथिको संशोधन फिर्ता लिएको छ । तर राजपाले भने प्रधानमन्त्रीको जवाफ प्रष्ट नभएको भन्दै संशोधनलाई निर्णायार्थ लैजान माग गरेको थियो ।

संविधान संशोधनमा प्रतिबद्धता, नागरिकता समस्या समाधान लगायतका विषयमा सरकारको प्रष्ट धारणा नआएको भन्दै मधेशवादी दलका सांसदले संशोधन हालेका थिए । प्रधानमन्त्रीले जवाफ दिने क्रममा संविधान संशोधन आवश्यकता र औचित्यका आधारमा गर्न सकिने बताएका थिए ।

त्यस्तै नागरिकता समस्या समाधान गर्न तत्कालै अड्चन हटाउने आश्वासनसमेत दिएका थिए । संघीय समाजवादी फोरमका चारजना सांसदले संशोधन दर्ता गराएकोमा चारैजनाले प्रधानमन्त्रीको जवाफ चित्त बुझाउँदै फिर्ता लिए । रामसहाय यादव, प्रदीप यादव, सुरेन्द्र यादव र रेणुका गुरुङको प्रस्ताव फिर्ता भएको हो ।

तर राजपाका सांसद अनिल झाले पनि संविधान संशोधन र मधेश आन्दोलनका घाइते तथा अपांग र शहीद परिवारलाई राहत दिने सन्दर्भमा प्रष्ट जवाफ नआएको भन्दै संशोधन प्रस्ताव फिर्ता लिन मानेन् । त्यस्तै कांग्रेस सांसद मिनेन्द्र रिजालले राष्ट्रपतिले सम्बोधन गर्ने क्रममा सभामुख र राष्ट्रियसभा अध्यक्षलाई आदरार्थी शब्द प्रयोग नगरेको भनी राखेको संशोधन फिर्ता लिएनन् । दुवै संशोधन बहुमतबाट अस्वीकृत भएका छन् ।

नागरिकता र संविधान संशोधबारे प्रधानमन्त्री……… यसअघि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा जवाफ दिने क्रममा वंशज, अंगीकृत वा जन्मसिद्ध जुनसुकै नागरिकका सन्तानले वंशजका आधारमा नागरिकता पाउने बताए । ओलीले भने ‘यसलाई संवेदनशील बनाइएको छ । तर जुनसुकै नेपाली नागरिकका सन्तानले वंशजको नागरिकता पाउने व्यवस्था छ । तर किन संवेनदशील बनाइदैछ, यसको समाधान हुन्छ ।

यो जीवित राखिरहनुपर्ने विषय होइन ।’ ओलीले संविधान संशोधनलाई भावनात्मक विषय नबनाउन आग्रह गरे । संविधान संशोधन हुनसक्ने भएकाले छलपलबाट कहाँ कहाँ गर्नुपर्ने त्यो गर्न सरकार तयार रहेको ओलीले बताए । प्रधानमन्त्रीले भने ‘संविधान भनेको आवश्यकता अनुसार त्यतिबेलाको समयले माग गरे अनुसार देश र जनताले माग गरेअनुसार त्यति बेलाको शक्तिले निर्धारण गरे अनुसार निर्माण र संशोधन हुन्छ ।।’