ओली र प्रचण्डलाई भेटेपछि संशोधन प्रस्ताव फिर्ता, उपेन्द्र यादव सरकारमा जान तत्पर ।।



सैघाली खबर, काठमाण्डौँ, १३ जेठ।
संघीय समाजवादी फोरमका सांसदहरुले सरकारको नीति तथा कार्यक्रममा राखेको संशोधन एकपछि अर्को गर्दैै फिर्ता लिएका छन् । प्रमुख विपक्षी कांग्रेससँगै राजपाले प्रधानमन्त्रीको जवाफमा चित्त बुझाएन तर, फोरमले सहजै फिर्ता लियो । धेरैलाई लाग्ला, प्रधानमन्त्रीको जवाफ चित्त बुझेर हो । तर, यति मात्र कारण होइन रहेछ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेतासँग छलफलपछि फोरमले नीति तथा कार्यक्रममाथि हालेको संशोधन फिर्ता लिएको खुलासा भएको छ ।

उपेन्द्र यादव नेतृत्वको फोरम यसै साता सरकारमा सहभागी हुनेसमेत बालुवाटार स्रोतले जनाएको छ । नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुअघि आइतबार विहान फोरम अध्यक्ष यादव बालुवाटार पुगेका थिए । नेकपाका अध्यक्ष प्रचण्डसमेतको उपस्थितिमा भएको छलफलपछि यादव सरकारका सहभागी हुन सहमत भएका छन् । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले यादवसँग प्रधानमन्त्रीको कुराकानी भएको पुष्टि गरे ।

तर, फोरमको सरकारमा सहभागिताबारे जानकारी नभएको बताए । यसअघि राजपाका शीर्ष नेतासँग पनि छलफल गरेको भन्दै उनले यादवसँगको भेट त्यसकै निरन्तरता भएको बताए । रिमालले भने, ‘हामी मधेसकेन्द्रित दलहरुलाई पनि सरकारमा अनबोर्ड गरेर अघि बढ्न सकारात्मक छौं । संख्याको हिसाबले यो सरकारलाई कतैबाट खतरा छैन तर, पनि सबैलाई लिएर देश विकास गर्ने प्रधानमन्त्रीको चाहना हो । पार्टी अध्यक्षसँग छलफलपछि संसदमा जवाफ दिने क्रममा ओलीले संविधान संशोधन आवश्यकता र औचित्यका आधारमा हुने भन्दै सकारात्मक धारणा राखेको फोरमको ठहर छ ।

प्रधानमन्त्रीले संविधान संंशोधन शक्तिका आधारमा हुने भनेर अर्थपूर्ण अभिव्यक्ति दिएको फोरमका एक नेताले बताए । उसो त अर्को मधेस केन्द्रित दल राजपालाई पनि सरकारमा सहभागी गराउन ओलीले चाहेका छन् । तर, राजपामा नेताहरु दुई कित्तामा बिभाजित भएकाले ‘डिल गर्न’ समस्या भइरहेको एक शीर्ष नेताले बताए ।

अध्यक्ष मण्डलमा रहेका राजेन्द्र महतो, राजकिशोर यादवलगायतका नेता सरकारमा सहभागी हुनुपर्ने पक्षमा छन् भने महिन्द्र यादव, अनिल झा लगायका नेता ओली सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने भन्दैछन् । ओली निकट स्रोतले भन्यो, ‘फोरम एउटै पार्टी भएकाले उपेन्द्र यादवसँग डिल गर्दा पुग्छ । तर, राजपा ६ वटा पार्टीको मोर्चा भएकाले कुरा गर्न अप्ठ्यारो छ । उनीहरुको कुरा नमिलेसम्म हामीले सक्दैनौं ।।’ –अनलाईन खबर

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्