सञ्चार ऐनलाई समावेशी बनाइने



काठमाडौं, जेष्ठ १४

गणतन्त्र दिवसको सन्दर्भमा क्रियाशील पत्रकार महिला wwj ले सण्डे क्लबको आयोजना गरी “पत्रकारिता एवं राजनीति क्षेत्रमा महिलाको सहभागिता” विषयक एक छलफल कार्यक्रम आयोजना गरेको छ ।

संस्थाको सचिवालयमा आयोजना गरेको कार्यक्रममा सांसद डा.विन्दा पाण्डेले नेपाली राजनीतिक इतिहासमा महिलाको उपस्थिति र देशका ठूला राजनीतिक परिवर्तनमा उनीहरूले पु¥याएका योगदानको चर्चा गरिन ।

पाण्डेले कुनै पनि राजनीतिक दलको नेतृत्व तहमा को पुग्यो भन्ने ठूलो कुरा नभई यो मुलुकका नेताहरू आफैले बनाएका कानुनको पालना आफै गर्ने की नगर्ने भन्ने महत्वपूर्ण विषय भएको बताइन। सांसद पाण्डेले कार्यक्रममाा बोल्दै राजनीतिक परिवर्तन भए पनि पितृसत्तात्मक मानसिकता परिवर्तन नभएको कारण महिलालाई अवसर दिंदा पुरुषको भाग जान्छ भन्ने मानसिकता अझै रहेको उल्लेख गरिन ।

नेकपा एमाले र नेकपा माओवादी मर्ज भएर बनेको नेपाल कम्युनिष्ट पार्टीमा महिला सहभागितामा देखिएको न्यूनता तथा महाधिवेशनपछि ३३ प्रतिशत महिला सहभागिता गराउने भनेर दल दर्ता गराउने सम्बन्धमा उनले भनिन– कानुन विपरित सहि गराउने अधिकार निर्वाचन आयोगलाई छ ? जतिसुकै पार्टी मर्ज भए पनि पार्टी त नयाँ बनेको उल्लेख गर्दै उनले स्पष्ट पारिन– विधान चाहिं नयाँ लैजाने, पार्टी दर्ता गर्न चाहिं पुरानै पार्टी हो भन्ने ठीक छैन, कि एमाले अनुसार कि माओवादीको विधान अनुसार गर्छु भन्नुपर्यो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधी मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले पहिलेको तुलनामा सञ्चार क्षेत्रमा महिलाको उपस्थिति बढ्दै गएको बताए । उनले राष्ट्रिय आम सञ्चार नीति आइसकेकाले यसैको आधारमा मन्त्रालयले सञ्चार सम्बन्धि केही ऐनहरू परिवर्तन गर्न लागेको र यसलाई समावेशी र सबैको हित हुने हिसाबको बनाउनमा पहल गर्ने जानकारी गराए । साथै उनले पत्रकार महिलाका समस्या सम्बोधन गर्न मन्त्रालयले पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

राष्ट्रिय समाचार समितिकी पूर्व महाप्रवन्धक निर्मला आचार्यले पत्रकारिता क्षेत्रमा वास्तविक रुपमा काम गर्दै आएका पत्रकार महिलाले विभिन्न तालिम, भ्रमण जस्ता दक्षता अभिवृद्धि गर्ने कार्यक्रममा अवसर नपाउने समस्या रहेको उल्लेख गरिन।

पत्रकारिता क्षेत्रमा रहेको सिण्डिकेटले काम गर्दै आएका पत्रकार महिलाले अवसर नपाउने समस्या रहेको उल्लेख गर्दै उनले पत्रकार महिलाको इतिहास र विकासक्रमको जानकारी गराउँदै पहिलो पत्रकार महिला साधना प्रधानको नाममा एक पुरस्कार स्थापना गर्न सरकारलाई आग्रह गरिन ।
कार्यक्रमको अध्यक्षता गर्दै संस्थाकी अध्यक्ष अमिका राजथलाले पत्रकार महिलाहरुको पलायन दरलाई रोक्न उनीहरुको क्षमता अभिवृद्धिका लागि सरकारी तवरबाट विशेष पहल गरिनु पर्ने, निर्णायक तहमा पत्रकार महिलालाई स्थान दिनु पर्ने, संवैधानिक रुपमा नै ३३ प्रतिशत महिला सहभागिता आवश्यक भए पनि ठाउँ खाली राख्ने तर महिला पत्रकारलाई अवसर नदिने प्रबृत्तिमा सुधार गर्नु पर्ने बताइन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्