संघीय संसदमा बजेट भाषण सुरु, सबै स्थानीय तहमा एक डाक्टर, शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण पाइने ।।



सैघाली खबर/काठमाण्डौँ, १५ जेठ।
संघीय संसदमा बजेट भाषण सुरु भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले अहिले संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा राजस्व र व्ययको अनुमान पेश गर्दै छन् । देश संघीयतामा गएपछि सरकारले राजश्व असुलीको महत्वाकांक्षी लक्ष्य राखेर पहिलोपटक पूर्ण आकारको संघीय बजेट प्रस्तुत गरेको हो । संविधानअनुसार केन्द्र, प्रदेश र स्थानीय तहले भिन्दाभिन्दै मितिमा बजेट ल्याउनुपर्ने नीतिगत व्यवस्था छ । यसअनुसार जेठ १५ मा केन्द्रीय बजेट, असार १ मा प्रदेशको बजेट र असार १५ मा स्थानीय तहको बजेट सार्वजनिक हुनेछ ।

यसैबिच, सरकारले स्वास्थ्य क्षेत्रका लागि ५६ अर्ब ४१ करोड रकम विनियोजन गरेको छ । संसद भवनमा आर्थिक वर्ष २०७५–०७६ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले यस्तो बताएका हुन् । बजेटमा सरकारले सबै नेपालीलाई आधारभूत स्वास्थ्यमा पहुँच पुर्याउन स्वास्थ्य बीमा देशैभर पुर्याउने भएको छ । यस्तै एक सय भन्दा बढी शैया भएका अस्पतालमा ज्येष्ठ नागरिकको सहज उपचारका लागि ज्येष्ट नागरिक वार्ड बनाइने घोषणा गरेका हुन् ।

देशका सबै वडामा न्यूनतम एक स्वास्थ्य संस्था बनाइने घोषणा गर्दै उनले पहिलो चरणमा १२ सय वडामा यस्ता स्वास्थ्य संस्था बनाइने गरी छनोट समेत गरिएको बताए । सबै स्थानीय तहमा कम्तिमा एकजना डाक्टरको व्यवस्था गर्ने तथा सुत्केरी हुँदा अस्पतालले दिने यातायात खर्च दोब्बर बनाइएको छ । सरकारले आयुर्वेद विश्वविद्यालय स्थापनाका लागि १० करोड रकम समेत छुट्याएको छ । अब सातै प्रदेशमा चिकित्सा अध्ययन प्रतिष्ठान स्थापना गर्ने पनि उनले बजेटमा उल्लेख गरे ।

यसैबिच, सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन पाउने व्यवस्था कार्यान्वयन गर्ने भएको छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बजेट भाषणमा ५ प्रतिशत व्याजदरमा ७ लाख रुपैयाँसम्म ऋण पाउने कार्यक्रम समावेश गर्नुभएको छ । अब शैक्षिक प्रमाणपत्र धितो राखेर युवाहरुले ऋण पाउनेछन् ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्