उर्जामा बढ्यो २१ अर्ब, एक बर्षमा सबै नेपालीको बैंक खाता, तराईमा खरको छाना भएकालाई जस्तापाता ।।



सैघाली खबर/काठमाण्डौँ, १५ जेठ।
सरकारले उर्जा क्षेत्रमा ८३ अर्ब ८९ करोड रकम विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले २०७५ देखि २०८५ सम्मको अवधिलाई उर्जा दशकको रुपमा मनाइने घोषणा गरे । सरकारले उर्जा क्षेत्रमा चालु आर्थिक वर्षको तुलनामा २१ अर्ब ४२ करोड बढी रकम विनियोजन गरेको हो ।

चालु आर्थिक वर्षमा उर्जा क्षेत्रका कार्यक्रमका लागि ६२ अर्ब ४७ करोड रुपैयाँ छुट्याएको थियो । तर यस वर्ष सरकारले उर्जालाई प्राथमिकता दिएकाले झण्डै २५ प्रतिशतले वृद्धि गरेको हो । सरकारले बुढीगण्डकी आयोजनाको मुआब्जा वितरण गरी आयोजना निर्माण अघि बढाउनुका साथै ग्रामिण विद्युतीकरणका लागि ५ अर्ब बजेट विनियोजना गरिएको छ ।

यस्तै राष्ट्रसेवक र विदेशमा रहेका नेपालीको लगानीमा विद्युत आयोजना निर्माण गरिने, सर्वसधारणको लगानीमा ३ हजार मेगावाटको विद्युत योजना निर्माण कार्य पनि सुरु गरिने बजेटमा उल्लेख छ । तराईमा २५ हजार घरमा गोवरग्यास प्लान्ट बनाउन सरकारले अनुदान दिने घोषणा पनि गरेको छ । यस्तै उर्जाको विकासका लागि विद्युत नियमन आयोग गठन गरिने पनि बजेटमा उल्लेख छ ।

यसैबिच, सरकारले आर्थिक कारोबार बैंकिङ क्षेत्रबाट मात्रै गर्ने उदेश्यले एक वर्ष्भित्र सबै नेपालीको बैंक खाता खोल्ने व्यवस्था गर्ने भएको छ । अब कर्जा, राजश्व, जरिवानालगायतका हरेक आर्थिक क्रियाकलाप बैंक खातामार्फत हुने बजेटमा उल्लेख छ । हरेक नागरिकलाई कर प्रणालीमा सहभागी गराउने र बैंकमार्फत भएपछि यो प्रक्रिया सहज हुने बजेटमा उल्लेख छ । कर प्रणालीमा नआउने नागरिकले राज्यबाट पाउने कुनै पनि सेवा सुविधा नपाउने बजेटमा उल्लेख छ ।

यस्तै सरकारले तराईमा घरको छाना भएका नागरिकलाई जस्तापाता दिने घोषणा गरेको छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बजेटमार्फत यो घोषणा गरेका हुन् । यस्तै दक्षिणी सीमा जोडिएको स्थानीय तहमा सडक पूर्वाधारका लागि ५३ करोड रुपैयाँ छुट्याइएको छ । हरेक प्रदेशमा एउटा व्यापारिक नाका बनाउने पनि सरकारले घोषणा गरेको छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्