माथिल्लो सोलु हाइड्रोपावरको ताला ११ दिनपछि खुल्यो



सोलुखुम्बु, १६ जेठ

माथिल्लो सोलु हाइड्रोपावरको फिल्ड कार्यालयमा लागेको ताला ११ दिनपछि मंगलबार खुलेको छ ।

आयोजनाले पार्टीको नाममा शेयर जारी गरेको भन्दै स्थानीय प्रभावितले गत जेठ ६ गते फिल्ड कार्यालयमा ताला लगाएका थिए । आयोजना र स्थानीय प्रभावितबीच विभिन्न विषयमा सहमति भएसँगै ताला खोलिएको सोलु दुधकुण्ड नगरपालिका–२ का वडाध्यक्ष मिङ्मार शेर्पाले जानकारी दिनुभयो ।

जिल्लाका तीन ठूला पार्टीको नाममा रु छ करोडको शेयर जारी गरेको भन्दै जनप्रतिनिधी सहितको टोलीले विरोध सहित स्थानीयको नाममा शेयर जारी गर्नुपर्ने एकसुत्रीय माग राख्दै ताला लगाएको थियो ।

आयोजनाले कुनै पनि पार्टीको नाममा शेयर जारी नगरेको भन्दै मंगलबार भएको सहमति अनुसार अब जारी हुने शेयर जनताको नाममा हुने सहमति पत्रमा उललेख गरिएको छ ।

यस्तै, आयोजनाले अतिप्रभावित र प्रत्यक्ष प्रभावितकालागि संस्थापक शेयरबापत चार लाख कित्ता शेयर वितरण गर्ने, साधारण शेयरसमेत सोलु दुधकुण्ड नगरपालिकालाई नियम अनुसार वितरणका लागि नियामक निकाय समक्ष पहल गर्ने सहमतिपत्रमा दुवै पक्षले हस्ताक्षर गरेका छन ।

सोलु दुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पा तथा विभिन्न वडाका वडाध्यक्ष सहितको उपस्थितिमा गरिएको सहमति पत्रमा प्रभावितका तर्फबाट वडा नम्बर २ का वडाध्यक्ष मिङ्मार शेर्पा र वडा नम्बर ४ का वडाध्यक्ष दावागेलु पाख्रिनले हस्ताक्षर गर्नुभएको छ भने आयोजनाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शशीसागर राजभण्डारीले हस्ताक्षर गराएका छन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्