अपांगता भएकाहरुले पाए नयाँ जीवन



लिबाङ, रोल्पा, १६ जेठ । साविकको कुरेली–१, रोल्पाकी १२ वर्षीया मैती विकको खुट्टा केही समय अघि आगोले पोलेको थियो ।

कक्षा ५ मा अध्ययनरत विकको आगोले पोलेका कारण एउटा खुट्टा जलेर नष्ट भयो, जसका कारण उनले नचाहेर पनि एउटा खुट्टा गुमाउनु परेको थियो । खुट्टा जलेपछि उनलाई हिँडडुल गर्न त के भित्रबाहिर गर्नसमेत असहज हुने गथ्र्यो । साथीभाइ हिँडडुल गरेको देख्दा कहिलेकाहीँ उनीमा आफ्नो पनि खुट्टा नपोलिएको भए संसार घुम्थेँ भन्ने रहर पलाउँथ्यो त कहिलेकाहीँ जीवनदेखि नै नैराश्यता उत्पन्न हुन्थ्यो । “खुट्टा हुनेका लागि सामान्य कुरा होला, तर जस्को खुट्टा छैन, उसको संसार छैन,” उनले भनिन् ।

तर अब मैती आफ्नै खुट्टाले हिँडडुल गर्नसक्ने भएकी छिन् । यही २०७४ जेठ ५ देखि १० गतेसम्म जिल्लाका विभिन्न स्थानमा सञ्चालन भएको कार्यक्रममा अपांगता भएका व्यक्तिका लागि परीक्षण तथा सहायक सामग्री वितरण शिविर सम्पन्न भयो । शिविरमा ४८३ जनाले सेवा लिए । यसरी सेवा लिने क्रममा मैतीले कृत्रिम खुट्टा पाएपछि उनी निकै हर्षित भएकी छिन् । अहिले उनले नयाँ जीवन पाएको अनुभूति गरिराखेको उनका साथीहरुले समेत बताएका छन् ।

यसरी रोल्पाको होलेरी प्राथमिक उपचार केन्द्रमा २०७५ जेठ ५ गते, बागमारा इरिवाङमा जेठ ७ गते, खरिबोट स्वास्थ्यचौकी कुरेलीमा जेठ ८ गते, जिल्ला अस्पताल, रेउघामा जेठ ९ गते र सुलिचौर प्राथमिक उपचार केन्द्रमा जेठ १० गते अपांगतासम्बन्धी शिविर सञ्चालन भएको थियो ।

गत मंसिर २८ गते सम्पन्न अपांगता शिविरबाट परीक्षण गराएकाका लागि फलोअप शिविर तथा सहायक सामग्री प्रदान र नयाँका लागि परीक्षण गरिएको मानवअधिकार सचेतना केन्द्र ९हुरेक० रोल्पाका अध्यक्ष घनश्याम आचार्यले बताउनुभयो ।

उहाँका अनुसार जिल्ला समन्वय समिति रोल्पा र जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा रोल्पा नगरपालिका तथा जिल्लाका नौवटै गाउँपालिकाको सहयोग तथा व्यवस्थापनमा, सेभ द चिल्ड्रेन, मानवअधिकार सचेतन केन्द्र ९हुरेक० रोल्पा, अपांग समाज कल्याण समाजको संयोजन र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल शारीरिक पुनःस्थापना केन्द्रको प्राविधिक सहयोगमा अपांगताका लागि परीक्षण तथा सहायक सामग्री वितरण शिविर सञ्चालन सम्पन्न भएको हो ।

यसरी ४८३ जना अपांगतासम्बन्धी समस्या भएका व्यक्तिको जाँच गरेकोमा शिविरमा १५३ जना व्यक्तिमा शारीरिक अपांगता पहिचान भएको छ । तीमध्ये ११७ जनाको कृत्रिम सहायक सामग्री राख्नुपर्ने भएको छ भने आधाभन्दा बढीको सहायक सामग्री वितरण गरिएको छ ।

यस्तै, अपांगता शिविरबाट माडी गाउँपालिका–१ घर्तीगाउँकी ११ वर्षीया लिला परियारले पनि गुमाएको खुट्टाको साटो कृत्रिम खुट्टा राखेपछि खुशी व्यक्त गरिन् । मैतीजस्तै लिला पनि यतिबेला निकै खुशी भएकी छिन् । उनले पनि अब सामान्य हिँडडुल गर्नका लागि कसैको सहायता लिनु नपर्ने भएको छ । आफ्नै गाउँ ठाउँमा निःशुल्क रुपमा यस्ता सामग्री पाउँदा केही भएपनि पीडा बिर्सेकी छु उनले भनिन् ।

आफ्नो गाउँघरमै पहिलोपटक शिविर सञ्चालन गरेर अपांगता भएका व्यक्तिलाई राहत दिएको भन्दै स्थानीयवासी निकै हर्षित भएका छन् । उनीहरुले आयोजकसँग आभार प्रकट गर्दै सबैलाई धन्यवाद दिए ।

लामो समयदेखि शारीरिक अपांगता भएकै कारण कष्टपूर्ण जीवन बिताइरहेका बिरामीले जिल्लामै सेवा लिन पाउँदा आफूहरु निकै हर्षित भएको बताएका छन् ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल शारीरिक पुनःस्थापना केन्द्रका टेक्निकल म्यानेजर हितेष न्यौपानेका अनुसार शारीरिक अपांगतासम्बन्धी १५३ जना, नाक, कान, घाँटीसम्बन्धी १५४ जना, आँखासम्बन्धी १५३ जना र २३ जनालाई बौद्धिक अपांगतासम्बन्धी समस्या रहेका व्यक्ति शिविरमा परीक्षण गराएका थिए ।

शिविरमा विभिन्न समस्या भएका २७३ जना बालबालिकाको जाँच भएको छ । शारीरिक अपांगता भई जीवन जीउनसमेत जोखिम रहेका व्यक्तिले कृत्रिम सहायक सामग्री पाउँदा खुशी व्यक्ति गरेका छन् ।

शिविर समापन तथा समीक्षा कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति, रोल्पाका प्रमुख राजबहादुर बूढाले अपांगता भएका व्यक्तिको जीवन निर्वाह सहज बनाउन स्थानीय सरकारले समेत आगामी दिनमा ध्यान दिनुपर्ने बताउनुभएको छ । उहाँले मुलुक संघीयतामा गएपछि स्थानीय स्तरमै अपांगता भएका बालबालिकाले शिक्षा लिन पाउने अवसरको सिर्जना गर्नुपर्नेमा समेत जोड दिनुभयो ।

यस्तै, कार्यक्रममा बोल्दै रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले रोल्पामा समेट्न नसकिएका अपांगता भएका व्यक्तिको लागि आगामी दिनमा थप शिविरको आयोजना गर्न सहयोग गर्ने बताउनुभएको छ । रासस
–––

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्