यसरी पनि सडक कालोपत्रे गरिन्छ र ?



सैघाली खबर, १६ जेठ।
कञ्चनपुरको महाकाली नगरपालिकाले वडा नम्बर ४ मा भइरहेको सडक निर्माणको काम रोक्न निर्देशन दिएको छ । सडक निर्माणका क्रममा अनियमितता भएको देखिएको भन्दै नगरपालिकाले सडक निर्माणको काम तत्काल रोक्न ठेकेदारलाई निर्देशन दिएको हो । सडक कालोपत्रे गर्दा गिट्टीमाथीको माटो सफा गर्नुपर्ने भए पनि ठेकेदारले मापदण्ड विपरीत माटो माथी नै कालोपत्रे गरेको पाइएपछि स्थानीयले त्यसको विरोध गरेका थिए ।

नगरपालिकासँग भएको इस्टिमेटअनुसार सडक कालोपत्रे गर्दा अनियमितता देखिएकाले तत्काल काम रोकि सुधार गर्न निर्देशन दिएको महाकाली नगरपालिका कार्यालयले जनाएको छ । तर, नगरपालिकाले काम रोकि सुधार गर्न निर्देशन दिए पनि ठेकेदारले अटेरी गर्दै कालोपत्रे गर्ने काम जारी राखेको स्थानीयले बताएका छन् ।

कालोपत्रे निर्माणमा अनियमितता देखिएकाले तत्काल काम रोकि सुधार गर्न भनिएको र ठेकेदारले अटेरी गरेर मापदण्ड विपरित काम गरे भुक्तानी नदिने महाकाली नगरपालिकाले जनाएको छ । गत पुस ३१ गते पन्त कन्स्ट्रसनसँग यही जेठ मसान्तसम्म काम सक्ने गरी ३३ लाख ९ हजार १ सय ३२ रुपैयाँमा ५ सय मिटर सडक कालोपत्रे गर्ने सहमति भएको थियो ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्