गर्मीले नेपालगञ्ज अस्तव्यस्त, तापक्रम ४२ डिग्री नाघ्यो ।।



सैघाली खबर/बाँके, १६ जेठ।
केही दिनयता नेपालगन्ज लगायत तराईका जिल्लामा गर्मी निकै बढेको छ । गर्मी बढेसँगै जनजीवन प्रभावित भएको छ । गर्मीसँगै चल्ने तातो हावाका कारण अस्पतालमा बिरामी पनि बढ्न थालेका छन् । नेपालको सबैभन्दा गर्मी हुने ठाउँको उपमा पाएको बाँकेको नेपालगञ्जमा यस वर्ष पनि तापक्रम उच्च देखिएको छ । गृष्म ऋतुको आगमनसँगै बढ्न थालेको नेपालगञ्जको तापक्रम ४२ डिग्री भन्दा माथि लागेको छ । अत्याधिक गर्मीले उकुसमुकुस बनाएपछि नेपालगञ्जवासी वाक्कदिक्क बनेका छन् ।

गर्मीसँग सम्बन्धित रोगहरुको संक्रमणका कारण अस्पतालमा विरामीको चापसमेत बढेको छ । सधैजसो चहलपहल र भिडभाड देखिने सडक र गल्लीमा गर्मीको कारण चहलपहल पातलिएको छ । २०१७ मा जल तथा मौसम विज्ञान विभाग हावापानी फिल्ड कार्यालय राँझा नेपालगन्जले धेरै तापक्रम मे २५ तारिखका दिन ४२.० डिग्री मापन गरेको थियो ।

विगतभन्दा यसबर्ष केही तापक्रम बढी मापन गरिएको छ । जल तथा मौसम विज्ञान विभाग हावापानी कार्यालय नेपालगन्जका निमित्त फिल्ड ईन्चार्ज पल बहादुर विश्वकर्माले यस क्षेत्रको तापक्रम बढेसँगै मानिसहरुको जनजीवन कष्टकर भएको बताउँछन् । घरमा पंखा एसी चलाएर बस्नेहरु त गर्मीले वाक्कदिक्क बनेका छन् भने मजदूरी गरी जीविको पार्जन गर्नेहरुलाई गर्मीले हदैसम्मको सास्ती थपेको छ । तातो हावासहितको गर्मीले नेपालगन्ज बासिहरुको जनजीवन अस्तव्यस्त बनाएको हो ।

सर्वसाधारण गर्मी छल्नका लागि विभिन्न पार्क, हरियाली वा रुखको छहारीको सहारा लिन बाध्य बनेका छन् । गर्मी बढेसगै दैनिक कामकाजका साथै रातमा सुत्न पनि गाह्रो हुने नेपालगन्जबासी बताउछन् । गर्मीले नेपालगन्जबासीलाई उकुममुकुस बनाइरहेको बेला लोडसेडिङ भएपछि झनै सास्ती भएको छ । बढ्दो गर्मीका कारण स्थानीय व्यापार व्यवसाय समेत घटेको व्यवासायी बताउछन् । मौसम परिवर्तनसँगै गर्मी हुनु स्वाभाविक नै हो तसर्थ यस्तो समयमा विभिन्न सरुवा र अन्य रोगको पनि प्रकोप बढ्ने हुँदा सबैले आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिन जरुरी छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्