कुचो लगाउदै सभामुख



सैघाली खबर,
काठमाडौं, १६ जेठ । सभामुख कृष्णबहादुर महराले स्वच्छ वातावरण महाअभियान २०७५ को शुभारम्भ गरेका छन । विश्व वातावरण दिवसको सन्दर्भ पारेर वन तथा वातावरण मन्त्रालयको पहलमा आज देखि शुरु भएको स्वच्छ वातावरण महाअभियानको सभामुख महराले उद्घाटन गरेका हुन ।काठमाडौंस्थित शंखपार्कको सडकमा कुचो लगाउँदै सभामुख महराले स्वच्छ वातावरण महाअभियानको शुभारम्भ गरेका हुन ।
सडक सफा गर्नुअघि आयोजित उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख महराले स्वच्छ वातावरण निर्माणका लागि आफैबाट सरसफाइको शुरुवात गर्नुपर्ने बताए ।

 

‘सरसफाइ आफूबाटै शुरु गरौं, एक–एक इकाईबाट समूह बन्छ र त्यसले संस्थागत रुप लिन्छ, उनले भने, ‘सबै सरसफाइमा लागेपछि गाउँ, सहर र देश सबैतिर सफा हुन्छ र स्वच्छ वातावरण निर्माणको हाम्रो महाअभियान सफल बन्छ ।’

नीति, योजना निर्माण गर्ने तर कार्यान्वयन गर्ने दायित्वबोधबाट पन्छिने हो भने कहिल्यै पनि लक्ष्यमा पुग्न नसकिने भन्दै सभामुख महराले योजना जस्तै कार्यान्वयनमा लागेर अभियान सफल बनाउन आयोजकलाई आग्रह गरे ।

सरसफाइ आम नागरिकको स्वास्थ्य, इज्जत, स्वस्थ र सवल जनशक्ति निर्माणसँग जोडिएको भन्दै उनले वातावरण दिवसकै दिनदेखि शुरु भएको अभियानले स्वच्छ देश निर्माणको यात्रालाई सफल बनाउने विश्वास व्यक्त गरे ।

सरसफाइ कार्यक्रम अन्तर्गत शंखपार्कबाट सडक छेउछाऊको फोहर उठाउँदै शुरु भएको सरसफाइ कार्यक्रम विशालनगर चोक हुँदै धुम्बाराही, पीपलबोटबाट पुनः शंखपार्कमा पुगेर समापन गरिएको थियो । सरसफाइ कार्यक्रममा सभामुख महराका साथै वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत, मन्त्रालयका सचिव, कर्मचारी, सुरक्षाकर्मी र उल्लेख्य सर्वसाधारणको उपस्थिति रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्