प्रदेश ३

नेपालको कम्युनिस्ट पार्टीबाट विश्वका अन्य कम्युनिस्ट पार्टीले के सिक्ने ?

By थाहा अनलाइन

May 30, 2018

सैघाली खबर/काठमाण्डौँ, १६ जेठ। नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिस्पर्धाबाट जनताको मत जितेरै विश्वमा कम्युनिस्टहरुले शासन गर्न सक्ने सन्देश नेपालले दिएको बताएका छन् । काठमाडौंमा बुधबारदेखि शुरु भएको अन्तर्रा्ष्ट्रिय कम्युनिस्ट तथा समाजवादी नेताहरुको सम्मेलनलाई सम्बोधन गर्दै ओलीले नेपालको कम्युनिस्ट आन्दोलनका अनुभव विश्वका अन्य देशका कम्युनिस्ट पार्टीलाई काम लाग्ने बताए । ओलीले नेपालको कम्युनिस्ट पार्टीसँग शान्तिपूर्ण र सशस्त्र दुवै संघर्षको अनुभव रहेको बताउँदै मदन भण्डारीको नेतृत्वमा नेपालको कम्युनिस्ट आन्दोलनले माक्र्सवादको नवीन प्रयोग गरेको र त्यसबाट सफलता मिलेको सुनाए ।

दश पेज लामो लिखित वक्तव्यका क्रममा प्रधानमन्त्री ओलीले हरेक देशले आफ्नो सामाजिक बनोट र देशको आवश्यकता अनुसार कम्युनिस्ट आन्दोलनको विकास गर्नुपर्ने बताए । उनले आफूहरु मार्क्सवाद र लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मानेर समृद्ध नेपाल निर्माण गर्दै समाजवादतर्फ अघि बढ्ने बताए । ओलीले भने, हाम्रो मौलिक प्रयोग ७० वर्षपछि सफल भएको छ । आज हामीसँग संघीय संसदमा करीव दुई तिहाई बहुमत छ ।

सातमध्ये ६ प्रदेश र स्थानीय तहमा बहुमत जनमत पाएका छौं । ५३ प्रतिशत भन्दा बढी जनताको लोकप्रिय मत प्राप्त कम्युनिस्ट पार्टी बनेका छौं । यो विश्वका अन्य कमरेडहरुका लागि पनि अनुकरणीय हुनेछ । ओलीले मार्क्सवाद संसारकै उत्कृष्ट दर्शन र कार्ल मार्क्स आधुनिक विश्वलाई सबैभन्दा प्रभाव पार्ने दार्श्निक भएको स्मरण गर्दै मार्क्सवादको प्रयोग र विकास हरेक देशले आफ्नो अनुकुलतामा गर्नुपर्ने बताए । ओलीले संसारमा मार्क्सवाद कहिल्यै पराजित नहुने बताए । मार्क्सको द्विशतवाषिर्कीको अवसरमा आयोजित सम्मेलनमा एक दर्जनभन्दा बढी देशका कम्युनिस्ट नेताहरुलाई नेकपाका अर्का अध्यक्ष प्रचण्डले पनि सम्बोधन गरे ।

प्रचण्डले पनि कम्युनिस्ट पार्टीलाई जनताबाट कसरी अनुमोदन गर्ने भन्ने सन्दर्भमा नेपालको फरक अभ्यास रहेको बताए । उनले नेपालको आफ्नो मौलिकता र अन्तर्रा्ष्ट्रिय कम्युनिस्ट आन्दोलनका अनुभवहरुका आधारमा नेपाल कम्युनिस्ट पार्टीले मुलुकको नेतृत्व गर्न सफल भएको बताए । प्रचण्डले शान्तिपूर्ण र सशस्त्र संघर्षको अनुभवबाट नेपाली कम्युनिस्ट आन्दोलन अघि बढेको बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले भने ‘हामीले भर्खरै सम्पन्न तीनै तहका निर्वाचनमा करिब दुई तिहाई बहुमत प्राप्त गरेका छौं । हामीले जनतामा आफ्नो लोकप्रियता प्रमाणित गरेका छौं ।

अब हामी एक्काइसौं शताव्दीको समाजवादको अभ्यास गरेर विश्व समुदायलाई देखाउँछौं । कार्यक्रममा कार्ल मार्क्सको द्विशतवार्षिकी समारोह समितिका अध्यक्ष पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको कम्युनिस्ट आन्दोलन एक्काइसौं शताब्दीको समाजवादी अभ्यासको नमूना बन्न सक्ने बताए । उनले नेपालको कम्युनिस्ट आन्दोलनको सफलताले प्रतिस्पर्धाबाटै कम्युनिस्ट पार्टी सत्तामा आउन सक्छ भन्ने प्रमाणित भएको बताए । दुई दिनसम्म चल्ने सम्मेलनमा चीन, भारत, भीयतनाम, लाओस, उत्तर कोरिया, दक्षिण अफ्रिका, भेनेजुयला, अष्ट्रेलिया, बंगलादेश, श्रीलंकालगायतका देशका कम्युनिस्ट पार्टीका नेताहरु सहभागी छन् ।।