दाङका खेतबारीमा पोटास र फोस्फोरसको कमी



दाङ, १७ जेठ

दाङ जिल्लाका किसानको खेतीयोग्य जमिनमा पोटास र फोस्फोरसको कमी भएको पाइएको छ ।

बुधबार भएको उपमहानगरस्तरीय निःशुल्क माटो परीक्षण शिविरमा किसानले ल्याएको खेतीयोग्य जमिनको माटो चेकजाँच गर्दा सो कमी पाइएको जिल्ला कृषि विकास कार्यालयका माटोविज्ञ दिगम्वर यादवले बताए ।

“अधिकांश जमिनमा पोटासको मात्रा न्यून र फोस्फोरसको मात्रा ७५ प्रतिशत देखिएको छ, खेतीयोग्य जमिनमा पोटास र फोस्फोरस हाल्नुपर्ने देखिएको छ” उनले भने ।

एकीकृत मलखाद व्यवस्थापन र अम्लीयपनाको सुधार स्वस्थ बाली उत्पादन र कृषि व्यवसायीकरणको आधार भन्ने मूल नाराका साथ दुई दिनसम्म शिविर आयोजना गरिएको थियो । तुलसीपुर उपमहानगर कृषि विकास शाखाले तुलसीपुरमा आयोजना गरेको शिविरमा ११४ जना किसानले माटो चेकजाँच गराएका थिए ।

माटो विज्ञ यादवले माटोमा पोटास र फोस्फोरसको कमीका कारण बालीमा रोग लाग्ने, ढल्ने र उत्पादनमा कमी आउने बताए । उनले किसानले खेती गर्दा आवश्यक मात्रामा पोटास र फोस्फोरसको प्रयोग गर्न सुझाव दिए ।
 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्