दमौली, १७ जेठ
तनहुँको भानु नगरपालिका–३, तुरतुरेस्थित मस्र्याङ्दी नदीबाट एक्साभेटर प्रयोग गरी अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेका सवारी साधनलाई बुधबार प्रहरीले नियन्त्रणमा लिइएको छ ।
ग १ क २६४८ नम्बरको एक्साभेटर र लु १ त १७०८ नम्बरको ट्याक्टरलाई चालक सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए ।
अवैधरुपमा ढुंगा, गिट्टी बालुवाको उत्खनन र ओसारपोसार गरिरहेको अवस्थामा ती सवारीसाधन फेला परेकाले नियन्त्रणमा लिई कारबाहीका लागि जिल्ला समन्वय समितिको कार्यालयमा पठाइएको हो प्र.ना.उ मल्लले जानकारी दिए ।
एक सातायता जिल्ला प्रहरी कार्यालय, तनहुँले मस्र्याङ्दी, सेती, मादी लगायतका नदीबाट नियन्त्रणमा लिएका डेढ दर्जन सवारी साधन कारबाहीका लागि जिल्ला समन्वय समितिमा पठाएको जनाएको छ । केही समयदेखी देशभर अबैध तरिकाले ढुुंगा, गिट्टी तथा बालुवा झिक्ने कार्य तिव्ररुपमा बढिरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।