बजेटबारे कर्मचारीको प्रतिक्रिया : तलब बढेन, भत्ताले मूल्यवृद्धिको सामना गर्न सक्दैन ।।



सैघाली खबर/काठमाण्डौँ, १७ जेठ।
बजेट भाषणमा तलब वृद्धि नभएपछि निजामती कर्मचारीले असन्तुष्टि जनाएका छन् । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनले तलब पुनरावलोकन नहुनु र मूल्यवृद्धिको अनुपातमा भत्ता कम हुनुले कर्मचारीलाई उत्साहित बनाउन नसकेको टिप्पणी गरेको छ । आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुन्य ढकालले उच्चस्तरीय तलब आयोग गठन गर्ने कुरा अल्मल्याउने तरिकामात्रै हो भन्दै कर्मचारीको हकमा बजेट अनुदार भएको गुनासो गरे ।

तै पनि केही नहुनुभन्दा एक हजार रुपैयाँ महंगी भत्ता वृद्धि हुनुलाई सकारात्मक रुपमै लिएको उनले बताए । ढकालले भने, ‘२०७३ सालमा केपी ओली प्रधानमन्त्री भएकै बेला तलब बढेको हो । २०७४ को सरकारले तलबभत्ता केही बढाएन । अहिले एक हजार भत्ता बढाइए पनि मूल्यवृद्धिसँग त्यसले सामना गर्न सक्दैन । पोशाक भत्ता २५ सय बढेको कुरालाई हामीले स्वागत नै गरेका छौं ।’ ऐनअनुसार प्रत्येक तीन वर्षमा तलब बढ्ने भनिए पनि दुई वर्षमा तलब बढाउने परम्परा रहेको ढकालले बताए ।

यसपटक तलब बढ्छ भन्ने कर्मचारीको अपेक्षा सरकारले सम्बोधन नगरेको उनले बताए । निजामती सेवा ऐनअनुसार प्रत्येक ३ वर्षमा निजामती कर्मचारीको तलबभत्ता पुनरावलोकन हुन्छ । मुख्य सचिवको संयोजकत्वमा रहेको समितिले ३ वर्षको भत्तामध्ये ७५ प्रतिशत तलबमा गाभेर २५ प्रतिशत भत्ता कायम गर्ने व्यवस्था ऐनमा छ । ऐनअनुसार २०७६ सालमा मात्र तलब पुनरावलोकन हुनेछ । त्यसैले कर्मचारीले तलब नबढेको गुनासो गरे पनि विरोध भने गरेका छैनन् ।।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्