बाटोले फेरिएको जीवन : चन्द्रवीरको कथा ! ११ जनामा ८ जनाले आँखा देख्दैनन् ।। (भिडियो)



सैघाली खबर/दाङ, १७ जेठ।
७४ बर्षका चन्द्रवीर ओलीको घर जंगलको माझमा छ । दाङ तुलसीपुर उपमहानगरपालिका ३ सात्तताले खमारीको जंगल, त्यो पनि भिरमै टास्सिएको छ उनको घर । चन्द्रवीरले आफु ४८ बर्ष पुगेपछि मात्रै विवाह गरेका थिए । कारण सानैमा मुगलान छिरेका उनि उमेरले ४० कटेपछि मात्रै घर फर्किएका थिए । घर फर्किएको केहि बर्षपछि चन्द्रवीरले बिहे गरे । तर उनले श्रीमति दृष्टिबिहिन रोजे । चन्द्रवीर भन्छन्, ‘मेरो पनि उमेर गईसकेको थियो, केटी आँखा देख्दिन भन्ने थाँहा थियो, तर रुपमा राम्रि थिई त्यसैले बिहे गरे ।’

बिहे पछि उनिहरुको परिवार बिस्तारै थपिदै गयो । ओली दम्पतीले पाँच वटा छोरालाई जन्म दिए । तर दुर्भाग्य चार छोराहरु दृष्टिबिहिन जन्मिए । कान्छा छोरा मात्रै आँखा देख्ने भए । तीन वटा छोराको बिहे भएसंगै अहिले चन्द्रवीरको परिवार ११ जनाको छ । चन्द्रवीरका दुईओटी बुहारी पनि दृष्टिबिहिन् आए । कान्छी बुहारी मात्रै आँखा देख्छिन् । ११ जनाको परिवारमा चन्द्रवीर स्वयम्, कान्छो छोरा र कान्छी बुहारी मात्रै आँखा देख्छन् ।

चन्द्रवीरले ईन्डियामा कमाई गरि ल्याएको ३५ हजारले उनले त्यही जंगलमा अलिकति जग्गा पनि किने । तर त्यो जग्गाको लालपुर्जा उनिसंग छैन । आर्थिक अवस्था अत्यन्तै कमजोर चन्द्रवीरको घर जंगलको बिचमा, आँखा देख्नेहरुलाई त उनको घरमा पुग्न धौ–धौ थियो । तर चन्द्रवीरको परिवारमा धेरै सदस्य आँखा देख्दैनन् । कल्पना गर्नुस् उनिहरु त्यस्तो बाटोमा उकाली–ओराली, गाँउ शहर कसरि गरे होलान् ? उनिहरुलाई यताउता आवतजावत गर्दा भिरका बुट्टयानहरुको साहरा लिनुपथ्र्यो । तर चन्द्रवीरलाई त्यो दृष्य देखिसक्नु भएन । दुई बर्ष अगाडी जब चन्द्रवीर उमेरले ७२ बर्षका थिए, अनि उनले शुरु गरे खमारीको उनको घर भएदेखि, कालोपत्रे सडक छुने बाटो खन्न ।

उनको घरदेखि कालोपत्रे सडक भेट्टाउन दुई किलोमिटर छ ।  हो त्यही बाटो खन्न उनि बिहान सबेरै उठेर भात भन्छाको काम सकेर बाटो खन्न निस्कन्थे । बाटो खन्दै गर्दा चन्द्रवीरलाई जाँडो, गर्मी, बर्षा केहिको वास्ता भएन । न त उनलाई भोक तिर्खाको नै वास्ता भयो । चाडपर्वले पनि उनलाई छोएन । अन्ततः चन्द्रवीरले दुई बर्षमा एक्लैले दुई किलोमिटर बाटो खनेर सके ।

आट गरे असम्भव केही छैन भन्ने कुरा चन्द्रवीरले साबित गरे । बाटो खनिरहदा उनलाई सहयोग कसैको पनि भएन, बरु छिमेकीहरुले उनलाई हाँसोको रुपमा लिन थाले । जब चन्द्रवीर एक्ललै दुई किलोमिटर बाटो खनेर सके भन्ने खबर सर्वत्र हुन थाल्यो त्यसपछि उनलाई बिस्तारै सहयोग पनि आउन थाल्यो । र त्यो क्रम अहिले पनि जारी छ । ७४ बर्षका चन्द्रवीरलाई बुढेसकालले छाईसक्यो । परिवारका अन्य सदस्य आँखा देख्दैनन् । सम्पतिको नाममा उब्जनि नहुने अझ भनौ लालपूर्जा नभएको अलिकति जग्गा छ । यो अवस्थामा चन्द्रवीरको परिवारको सहारा को ?

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्