सैघाली खबर, काठमाण्डौँ, १७ जेठ।
अर्थमन्त्रीले सांसदहरुलाई वडाध्यक्षको हैसियतमा राखेर अपमान गरेको भन्दै सत्तारूढ दल नेकपाका सांसद गजेन्द्रबहादुर महत प्रतिनिधिसभा बैठकमै भावुक भए । आर्थिक वर्ष २०७५र७६ का लागि विनियोजित बजेटमाथि छलफलमा भाग लिँदै जुम्लाका सांसद महत भावुक भएका हुन् । निर्वाचन क्षेत्र विकास कार्यक्रमका नाममा ४ करोड छुट्याए पनि योजना छनोटका लागि स्थानीय प्रतिनिधिसमेत रहेको समिति बनाउनु गलत भएको उनले बताए ।
सांसद तह लगाउने बजेट आएको भन्दै उनले भने, ‘कोही मन्त्री भएँ भन्दैमा हामीलाई बाँधेर राख्न पाइन्छ भन्या ? हामीलाई तह लगाउन पाइन्छ ? हामीलाई वडाअध्यक्षको ठाउँमा लिएर राख्न पाइन्छ भन्या ? चाहिएको छैन हामीलाई ४ करोड ।’ आफ्नो विरोधले केही नहुने जान्दाजान्दै असन्तुष्टि राख्नुपरेको उल्लेख गर्दे उनले भने ‘बजेटको मैले बचाउ गरिरनुपर्छ जस्तो लाग्दैन ।
कमजोर बस्तुको बचाउ गरिन्छ, बलियो बस्तुको सायद बचाउ गरिन्न । सितिमिति सायद यो हल्लिदैन ।’ ‘स्वर्गीय गिरिजाप्रसाद कोइरालाले भन्नुभएको थियो, तपाईहरुको विरोधले मलाई केही हल्लाउदैन । मैले त्यही शब्द सापटी लिएँ । विरोधले खासै हल्लिने देख्दिनँ । तर पनि बजेटले मलाई हल्लाइरहेको छ । हुम्लालाई हल्लाइरहेको छ ।’ बजेट शहर केन्द्रित भएको भन्दै उनले कर्णाली र जुम्लालाई सम्बोधन गर्न नसकेको गुनासो गरे ।
उनले भने, ‘यो बजेट जुम्ला जिल्लाका लागि न हर्ष छ,न विस्मात छ ।’ नेताहरुको ठाउँमा जति बजेट गएको छ, त्यति आफ्नो ठाउँमा जानुपर्ने उनको माग छ । सांसदको नाममा सबै सांसदलाई मुछ्ने काम गरेको भन्दै महतले असन्तुष्टि जनाए । दिनभरी संसदमा बस्दा पनि तपाई त हुनुहुन्न रे भन्दै जनताले फोन गर्ने गरेको भन्दै उनले भने, ‘फलानो सांसद छैनन, एनजीओको कार्यक्रममा छ भन्नुर्पयो । हामी सोझालाई बलीको बोका बनाउने ?’ -onlinekhabar
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।