धुम्रपान विरुद्ध चित्रकला प्रदर्शनी



 

ताप्लेजुङ, १८ जेठ
विश्व धुम्रपान रहित दिवसका अवसरमा ताप्लेजुङ सदरमुकामस्थित एक निजी विद्यालयका बालबालिकाले धुम्रपान विरुद्ध चित्रकला प्रदर्शनी गरेका छन ।
फुङलिङ नगरपालिकास्थित अक्सफोर्ड अंग्रेजी माध्यमिक विद्यालयका बालबालिकाले बिहीबार फुङलिङ बजारका विभिन्न क्षेत्रमा धुम्रपान विरुद्ध तयार पारिएका चित्र प्रदर्शनी गरेका हुन । उक्त विद्यालयमा गठित बालक्लब र जुनियर रेडक्रस सर्कलले चित्रकला प्रदर्शनीको आयोजना गरेका हुन ।

प्रदर्शनीमा सहभागी शिक्षक र विद्यार्थीले धुम्रपानले मानव स्वास्थ्यमा पु¥याउने हानीका बारेमा स्थानीयलाई जानकारी गराउँदै धुम्रपान विरुद्धका चित्र प्रदर्शन गरेका थिए ।

धुम्रपानका कारण स्वास्थ्यमा आइपर्ने जोखिमबारे सर्वसाधारणलाई जानकारी गराई यसको प्रयोगमा न्यूनीकरण गर्ने उद्देश्यले यस्तो कार्यक्रमको आयोजना गरिएको आयोजक बालक्लबले जनाएको छ ।

यस्तै, बालबालिकालाई सामाजिकीकरण गर्दै सिर्जनशील बनाउनसमेत यस प्रकारका कार्यक्रमले सहयोग पुग्ने विद्यालयका प्रधानाध्यापक गणेश सिग्देलले बताउनुभयो ।

शिक्षक र बालबालिका आफैँले बनाएका चित्रमा धुम्रपानले हुने क्यान्सर लगायतका विभिन्न रोगलाई चित्रण गरिएको थियो । दिवसका अवसरमा जिल्लामा अन्य कुनै कार्यक्रम भएनन ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्