एक– बर्षमा घोराही उपमहानगरपालिकामा १८ कि.मी. कालोपत्रे



पाण्डव शर्मा

दाङ १८ जेठ ।    घोराही उप–महानगरपालिकाले सडक कालोपत्रेका कामलाई प्रमुख प्राथमिकतामा राखेको छ ।चालू आर्थिक बर्षमा मात्रै १८ किलोमिटर सडक कालोपत्रे भएको छ । उप–महानगरपालिकाभित्र हालसम्म करिब ५५ किलोमिटर सडक कालोपत्रे भएको सूचना अधिकृत प्रेम केसीले जानकारी दिए । ‘घोराहीका धेरै सडकहरु कालोपत्रे भइसकेका छन,’उनले भने–‘अहिले भित्री सडकहरु पनि स्थानीय जनताको लागत सहभागितामा कालो पत्रेको काम भइरहेको छ ।’

उप–महानगरमा सडक बोर्ड, केन्द्रीय अनुदान,आन्तरिक लगानी तथा उपभोक्ताको लागत सहभागितामा सडक कालोपत्रेको काम भइरहेको छ । ‘विगतदेखिनै नगरपरिषद्ले सडक कालोपत्रेको कामलाई प्रमुख प्राथमिकतामा राख्दै आएका थिए,’ उप–महानगरका कार्यकारी अधिकृत ऋषिराम केसीले भने– ‘जनप्रतिनिधिहरु आइसकेपछि पनि उप–महानगरमा सडक कालोपत्रेको कामले प्रमुख प्राथमिकता पाएको छ ।’

 

केही वर्ष पहिलेसम्म घोराहीका मुख्य सडकहरु मात्रै कालोपत्रे भएकोमा अहिले उप–महानगरपालिकाका ग्रामीण क्षेत्रहरुमा समेत कालोपत्रेको काम भइरहेको केसीले जानकारी दिए ।
चालू आ.व.मा वडहरादेखि हापुर जोड्ने सडक, खैरादेखि कोठेरी जाने बाटो र रावतगाउँदेखि दक्षिण तर्फको बाटो कालोपत्रे गरिएको छ । ‘अन्य दर्जनौ साना सडक खण्डमा कालोपत्रेको काम भएको छ,’ केसीले भने–‘योजना तर्जुमा गर्दा पनि जनताको माग सडक कालोपत्रेमा बढि देखिन्छ ।’ सडक कालो पत्रेको साथै स्तर उन्नतीको कामलाई पनि प्रमुख प्राथमिकतामा राखिएको उनको भनाई छ ।

अहिले घोराहीको मुख्य सडकमा कटुवा खोलादेखि रतनपुरसम्म सडक बिस्तार सहित कालो पत्रेको काम शुरु भएको छ । सो सडक खण्डमा बिस्तारको काम पूरा भएपनि कालोपत्रेमा भने केही ढिलाई भएको उप–महानगरपालिकाले जनाएको छ । पछिल्ला बर्षहरुमा सडक कालोपत्रेमा भएको उपलब्धीलाई ‘सडक क्रान्ति’कै रुपमा चित्रित गर्न सकिने केसी बताउँछन् ।
घोराही उप–महानगरपालिकाका मेयर नरुलाल चौधरी सडक र जलस्रोत बिस्तारमा आफूहरुको मुख्य ध्यान केन्द्रित भएको बताउँछन् । ‘सडक विकासको मेरुदण्ड हो,सडक बिना विकासका अन्य काम गर्न सम्भव छैन,’– उनले भने– ‘सडक कालोपत्रे भएपछि उप–महानगरपालिकावासीहरु धुलो र धुँवाबाट बचेका छन् ।’ आगामी बर्षहरुमा पनि उप–महानगरपालिकाका अन्य क्षेत्रमा थप सडक कालोपत्रे गरिने उनले जानकारी दिए ।

सडक कालोपत्रेका साथै नाली निर्माणको काम भइरहेकाले घोराहीमा फोहोर व्यवस्थापनमा सहज भएको चौधरीको भनाई छ । ‘नालाको अभावमा बर्षातको समयमा बजारमा पानी जम्ने गर्दथ्यो,’– उनले भने–‘यसले शहर कुरुप हुनुका साथै सरुवा रोग फैलने खतरा बढाउने गरेको थियो ।’उप–महानगरपलिकाले सडक बिस्तार र स्तरोन्तिसँगै सडकको क्षेत्रधिकारभित्र रहेका संरचना हटाउने कामलाई पनि तीव्रता दिएको छ । अहिले सडक वरपर जथाभावी राखिएका ठेला तथा तरकारी बजारलाई बिस्तापित गरिएको छ । ‘जथाभावी ठेला राख्दा सवारी दुर्घटना बढेको थियो,’ । चौधरीले भने– ‘हामीले घोराहीलाई यस क्षेत्रकै नमुना र सुन्दर शहर बनाउन खोजेका छौं ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्