सार्वजनिक यातायातभित्र यात्रीले देख्नेगरी नम्बर राख्नुपर्ने, अटेर गरे यस्तो हुनेछ कार्वाही ।।



सैघाली खबर/काठमाडौं, १८ जेठ।
उपत्यकामा सन्चालित सार्वजनिक सवारी–साधनले यात्रीले देख्नेगरी सवारी–साधनको भित्री भागमा पनि नम्बर अनिवार्य राख्नुपर्ने भएको छ । सार्वजनिक यातायातमा यात्रीले धेरै सरसामान छोड्ने र हराउनेक्रम बढेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाको पहलमा ट्याक्सी, माइक्रोबस, बसदेखि सबैखाले सार्वजनिक यातायातले अगाडि नम्बर राख्नुपर्ने व्यवस्था गरेको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा यात्रीको सहजताका लागि बसभित्र पनि नम्बर राख्ने व्यवस्था मिलाइएको जानकारी दिइयो । महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले सार्वजनिक यातायातमा यात्रीले सरसामान धेरै छोड्ने तर सवारी–साधनको नम्बर थाहा नहुँदा हराउनेक्रम बढेपछि महाशाखाले सामानको सुरक्षा र सहज यात्राका लागि भित्रपट्टी पनि सवारी–साधन नम्बर राख्ने व्यवस्था मिलाएको बताए ।

उनले ट्राफिक व्यवस्थापनलाई सुरक्षित, मर्या्दित र व्यवस्थित बनाउन बस स्टपमा उक्लने र ओर्लने यात्रीलाई लाइन लगाएर सवारी–साधन चढाउने, लेन अनुशासनलाई कडाइ गर्ने, जेब्राक्रसिङलाई प्राथमिकता दिने, आकाशेपुलको प्रयोग गर्न लगाउनाका साथै सडक तथा फुटपाथलाई व्यवस्थित गर्न लागिएको जानकारी दिए । प्रहरी वरिष्ठ उपरीक्षक पन्तले गृह मन्त्रालयको ८२ बुँदे गृह प्रशासन सुधार योजना र प्रहरी महानिरीक्षकको १० बुँदे प्राथमिकतालाई महाशाखाले कडाइका साथ लागू गर्ने बताए ।

तोकिएको सिट नराख्ने, इजाजत नलिइ सवारी–साधन चलाउने, सिटभन्दा धेरै माइक्रोबस र टेम्पोमा यात्री राख्ने, सार्वजनिक सवारी–साधनमा धूमपान गर्ने, निषेधित क्षेत्रमा ध्वनिसंकेत दिने, निर्धा्रित् गतिभन्दा बढी बेगले सवारी चलाउने र दुर्घटना गराइ फरार हुने सवारी–साधनलाई एक हजार जरिवाना महाशाखाले गर्दै आएको छ । महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक पन्तले कान्तिपथबाट हरेक दिन सन्चालन भइरहेका सवारी–साधनलाई नयाँ बसपार्कबाट सन्चालन गर्ने प्रयास भइरहेको बताए ।

यस्तै, स्कुल, कलेज, संघ–संस्थामा ट्राफिक जनचेतनामूलक कार्यक्रम सन्चालन गर्नुका साथै प्रिन्टर जडान नगर्ने तथा बढी भाडा लिने ट्याक्सी, सीसीटीभीको निगरानीमा सवारी नियम उल्लंघन गर्ने सवारी–साधनलाई कारबाही गर्ने र बढी दुर्घटनाकारुपमा हेरिएका टिपर, ट्रकलाई दैनिक जाँचको व्यवस्था मिलाइएको महाशाखाले जनाएको छ ।

हाल काठमाण्डौं उपत्यकामा ११ लाख ३२ हजार ९२९ सवारी–साधन सन्चालनमा छन् । आर्थिक वर्ष २०७४/७५ को १० महिनामा उपत्यकामा १४९ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएको महाशाखाको तथ्यांकमा उल्लेख छ । जसमध्ये ११७ पुरुष र ३२ महिला थिए । चालू आवमा तीन लाख ७८ हजार ९२७ सवारी–साधनलाई कारबाही गरिएको महाशाखाले जनाएको छ ।।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्