प्रधानसेनापति क्षेत्रीले गरे बेलिब्रिज उद्घाटन



बागलुङ, १९ जेठ

कालीगण्डकी करिडोरको बागलुङ, जैमिनी नगरपालिका–७ स्थित लौवा खोलामा बेलिब्रिज निर्माण भएको छ ।

बेलिब्रिजको शुक्रबार प्रधानसेनापति राजेन्द्र क्षेत्रीले उद्घाटन गरे । पुल बनेसँगै वर्षा याममा पनि करिडोरको बागलुङ–गुल्मी खण्डमा यातायात नियमित हुने भएको छ । यसअघि बागलुङ खण्डमा तीन बेलिब्रिज निर्माण भई सञ्चालनमा छन ।

बेलिब्रिजको उद्घाटनपछि प्रधानसेनापति क्षेत्रीले विकास निर्माणका काममा सरकार र नागरिकसँग हातेमालो गरेर अघि बढ्न नेपाली सेना सधँै तयार रहेको बताए ।
रु तीन करोडको लागतमा बनेको बेलिब्रिजको निर्माण गत माघमा शुरु भई वैशाखमा सकिएको थियो ।

तीस मिटर लामो बेलिब्रिजको भारवहन क्षमता २४ टन रहेको नेपाली सेनाको कालीगण्डकी करिडोर निर्माण कार्यदलका प्राविधिक सुवेदार हरिशरण पोखरेलले बताए ।

“खोला बढेकै कारण वर्षायाममा अब करिडोर रोकिन्न,” उनले भने । “सडक स्तरोन्नति र चौडा गर्ने काम भने बाँकी छ ।” बजेट अभावका कारण स्तरोन्नतिको काम अघि बढ्न नसकेको उहाँको भनाइ छ ।

करिडोरको मर्मत, सुधार र स्तरोन्नतिका लागि थप रु एक अर्ब बजेटको खाँचो पर्ने निर्माण कार्यदलले जनाएको छ । नेपाललाई चीन र भारतसँग जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर मार्ग खुलेसँगै सार्वजनिक यातायात सञ्चालनमा छ । नेपाली सेनाले ठूला पुल बनाउन बजेट र समय धेरै लाग्ने हुँदा मार्ग खुलेका ठाउँमा तत्काललाई ‘बेलिब्रिज’ हाल्ने गरेको छ ।

बागलुङ खण्डकै जैमिनी नगरपालिका–१ स्थित ठेउलेखोला, वडा नं ७ को जैदीस्थित चौरीखोला र वडा नं ८ छिस्तीको पालुङखोलामा बनेका बेलिब्रिज गत असोजदेखि सञ्चालनमा छन् ।

तीन सय ४५ किमीको करिडोरको पूरै मार्ग खुले पनि दक्षिणी नाका सुनौलीदेखि उत्तरी नाका कोरलासम्म लामो दूरीमा यातायात चलेका छैनन । बीचबीचमा गरी छोटो दूरीमा चल्ने सार्वजनिक सवारीले यात्रुलाई सेवा दिइरहेका छन । जैमिनी नगरपालिकादेखि बुटवलसम्म भने नियमित बस सञ्चालनमा आइसकेको छ ।

करिडोर खुलेपछि सो मार्ग भएर रुपन्देही, पाल्पा, गुल्मी र बागलुङका पर्यटकीय र ऐतिहासिकस्थल घुम्नेको संख्या बढ्दो छ ।
स्थानीय उत्पादनको बजारीकरणले आर्थिक गतिविधि बढाएको छ ।

सडक विभागले काममा ढिलाइ गरेपछि सरकारले चार वर्षअघि करिडोरको मार्ग खोल्ने जिम्मा नेपाली सेनालाई दिएको थियो । व्यापार, पारवहन र सामरिक दृष्टिले महत्वपूर्ण कालीगण्डकी करिडोर नेपालको आर्थिक, सामाजिक विकासको मेरुदण्ड हुने ठानिएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्