मुख्य समाचार

विवादमा मेलम्ची खानेपानी आयोजना, दशैं अगाडी पानी नआउने पक्का ।।

By थाहा अनलाइन

June 03, 2018

सैघाली खबर, २० जेठ। घोषणा गरिए अनुसार दशैं अगाडी काठमाण्डौमा मेलम्चीको पानी नआउने लगभग पक्का भएको छ । यसो हुँदा खानेपानी मन्त्री बिना मगरको बचन पुरा नभएको मानिने छ । मन्त्री भएलगत्तै बिनाले दशैंअघि नै मेलम्चीको पानी काठमाडौँका धारामा ल्याउने बताएकी थिइन । तर, त्यो पूरा नहुने भएको छ । मेलम्ची खानेपानी आयोजनाबारे सरकार र ठेकेदार कम्पनीबीच विवादका कारण दशैंअघि मेलम्चिको पानी काठमाण्डौँ नपुग्ने पक्कापक्की जस्तै भएको छ ।

सम्झौता भन्दा बढी रकम मागेको भन्दै सरकारले ठेकेदार कम्पनीलाई थप रकम दिन नमानेका कारण विवाद उत्पन्न भएको हो । विवादकै कारण एक महिनादेखि आयोजनका काम प्रभावित भएपनि मन्त्री मगरले समाधान गर्न कुनै पहल नगरेको बताइएको छ । मेलम्ची खानेपानी आयोजनाको मुख्य भाग ‘रिभरमा’ भन्ने स्थानमा सम्झौता गरिएभन्दा बढी माटो खन्नुपरेपछि ठेक्काको जिम्मा लिएको इटालियन ठेकेदार कम्पनी सीएमसीले सम्झौतामा उल्लेख गरिएभन्दा बढी रकम दावी गरेको छ ।

मेलम्ची विकास समितिले कामलाई २८ करोड रूपैयाँ मात्रै दिने अडान लिएको छ भने कम्पनीले करिब एक अर्ब खर्च भएको दाबी गरेको छ । सुरुङ खनेर सकिएसँगै अब १० प्रतिशत काम मात्रै बाँकी रहेको मन्त्रालय र आयोजनाका अधिकारीहरुले बताउँदै आएका छन ।।