मुस्लिम धर्मावलम्बीको पर्वमा विदा माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र



बुटवल  २० जेठ, । मुस्लिम अगुवाहरुले आफ्नो समुदायका पर्वहरुमा सार्वजनिक विदा माग्दै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र बुझाएका छन् ।उनीहरुले नेपाल सरकारले विभिन्न पर्वको विदा कटौती गरेकोमा त्यसलाई पुनरावलोकन गर्न माग गरेका हुन् ।नेपाल मुस्लिम संघका केन्द्रीय उपाध्यक्ष अकिल मियाँसहित प्रदेश ५ का सबै जिल्लाका अध्यक्षहरुको टोलीले भेटर मुख्यमन्त्री पोखरेललाई ६ बुँदे ज्ञापनपत्र बुझाए ।

ज्ञापन पत्रका मुस्लिम समुदायको महान पर्वहरु ईद, बकर ईद, हजरत मुहम्मद जयन्तीका विदालाई तत्काल राष्ट्रिय विदा घोषणा गर्न माग गरिएको छ । यस्तै मुस्लिम समुदायले सदियौंदेखि भोग चलन गर्दै आएको कबरुस्तानलाई तत्काल दर्ता गराई निस्सा प्रदान गर्न माग गरिएको छ ।

राज्यका हरेक तहमा समानुपातिक समावेशीका आधारमा मुस्लिम समुदायको सहभागीताको लागि माग समेत ज्ञापन पत्रमा गरिएको छ । यस्तै मदरसा शिक्षालाई राष्ट्रिय मुलधारमा ल्याउनको लागि मदरसा बोर्डको समेत गठन गर्न माग गरिएको छ ।

यस्तै सरकारी तथा अर्ध सरकार निकायमा कर्मचारी नियुक्ति गर्दा मुस्लिम समुदायको अनिवार्य रुपमा प्रतिनिधित्व माग गरिएको छ । संवैधानिक मुस्लिम आयोगको गठन गर्नको लागिसमेत ज्ञापन पत्रमा जोड दिइएको केन्द्रीय सदस्य मियाको भनाइ छ ।

ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री शंकर पोखरेलले राष्ट्रिय विदाहरु कटौती केन्द्रीय सरकारले गरेको भन्दै प्रदेश स्तरमा विदाको विषयमा कमिटी गठन गरेर सुझाव संकलन गरिएको र सोही सुझावको आधारमा पुनःअवलोकन गर्न सकिने बताएका थिए । उनले मुस्लिम समुदायको शिक्षाको लागि प्रदेश सकारले विशेष जोड दिएको बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्