कामचोर ठेकेदारको खोजीमा गृहमन्त्री, सत्तामै रहेका कामचोर ठेकेदारतिर भने आँखा गएन ।।



सैघाली खबर, काठमाण्डौँ, २१ जेठ।
गृहमन्त्री रामबहादुर थापा (बादल) ‘कामचोर’ ठेकेदारहरुको खोजीमा छन् । जिल्ला–जिल्लाबाट सूची मगाएका उनी आजभोलि जहाँ पुग्छन्, ‘कामचोर’ ठेकेदारहरुलाई जेल हाल्ने चेतावनी दिन छाड्दैनन् । तर, प्रतिनिधिसभामा सत्तारुढ दलकै रोमा बसेका कामचोर ठेकेदारतिर भने उनको आँखा परेको छैन । हो, ठेक्का लिएर वर्षौंसम्म काम नगर्ने निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनका मालिक हरिनारायण प्रसाद रौनियार संघीय समाजवादी फोरमका सांसद हुन् । संघीय फोरम अहिले सरकारमा छ । उनै रौनियारको कम्पनी पप्पु कन्स्ट्रक्सनलाई सडक विभागका अधिकारीहरुले सडक र पुलको ‘ऐंजेरु’ भन्ने गरेका छन् ।

किनकी पुप्पु कन्स्ट्रक्सनले ‘लोएष्ट बिडर’ बनेर सडक तथा पुलको ठेक्काहरु हात पार्छ र कहिल्यै तोकिएको समयमा काम सम्पन्न गर्दैन । ‘पप्पुलाई बेलैमा काम भएन भनेर कारवाही गर्ने चेतावनी दिनै हुन्न, अदालत पुगेर स्टेअर्डर ल्याइहाल्छ,’ एक अधिकारीले भने, ‘पावरवाला सांसदको कम्पनी भन्ने भएपछि त झन् डिभिजनका हाकिमहरु पप्पुविरुद्ध बोल्दै बोल्दैनन् ।’ भर्खरै उनको पार्टी फोरमका सांसद मो. इस्तियाक राइन शहरी विकासमन्त्री बनेका छन् । त्यसैले सडक विभागमा चर्चा छ, ‘अब ऐँजेरु भवनतिर पनि सर्ने भयो ।’

कम्पनी बेचें भन्दै झूटो प्रचार………….
पप्पुको मुख्य कार्यालय वीरगञ्जमा छ । सांसद भएपछि ठेकेदार सांसद भन्न थाले र उनको आलोचना भयो । त्यसबाट बच्न उनले कम्पनी बेचेको दाबी गर्छन् । उनले वीरगञ्जकै सुमित रौनियारलाई कम्पनी बेचेको बताउछन् । तर बुझ्दै जाँदा सुमित रौनियार उनकै छोरा रहेछन् । सडक विभागको तथ्यांकअनुसार सडकका अधिकांश पुलको ठेक्का पप्पु कन्स्ट्रक्सनले हात पारेको छ । सार्वजनिक खरिद ऐनमा भएको व्यवस्थालाई टेकेर उनी सबैभन्दा कम बोलकबोलसहित टेण्डर हाल्छन् । सडकका हाकिमहरु पनि उनको क्षमतामाथि प्रश्न उठाएर क्रस गर्ने आँट गर्दैनन् र पप्पुले ठेक्का पाउँछ । तर, जब ठेक्का पाएर १० प्रतिशत मोबिलाइजेशन खल्तीमा पर्छ, पप्पुले काम गर्न छाड्छ ।

यस्तो छ पप्पुको खराब रेकर्ड………….
सडक विभागका अधिकारीहरुका अनुसार पप्पु कन्स्ट्रक्सनले बनाउनु पर्ने सबै पुलको लम्बाइ जोड्ने हो भने सात किलोमिटर नाघ्छ । काठमाडौंको तीनकुनेको पुल होस् वा टेकु र कालिमाटीलाई जोड्ने पुल होस्, पप्पुले नै ठेक्का पाएको छ । पप्पु कन्स्ट्रक्सनले पर्सामा नौरन्जीया, तिलाव, बेदाहा र हेरियाडी नदीमा पुल बनाउँदैछ । यसमध्ये नौरन्जीया र तिलाव ०७० सालमै सक्नुपर्ने थियो भने बेदाहा र हेरियाडीको निर्माण ०७३ मै । तर, अझै काम सकिएको छैन । रौतहटमा निर्माण हुँदै गरेको चाँदी नदी पुलको म्याद आगामी असारमा सकिँदैछ । तर, भौतिक प्रगतिले भने पुल बन्न अझै लामो समय लाग्ने देखिएको छ । रौतहटकै लमाहखोला र तरहरा झाँद्ध नदीपुल पनि म्याद गुज्रिसकेको छ । रौतहटको बाग्मती नदी पुल पप्पुकै जिम्मामा छ । आगामी असारमा सक्नुपर्ने पुलको भौतिक प्रगति सन्तोषजनक नभएको विभागमा अधिकारीहरु बताउँछन् ।

पप्पु कन्स्ट्रक्सनसँग अहिले १० अर्ब बढीको ठेक्का छ । तर, कुनै पनि काम न समयमा भएको छ र प्रगति सन्तोषजनक छ । बरु कामको गुणस्तरीयतामाथि पटक–पटक प्रश्न उठेको छ । कञ्चनपुरको औरही पुलको पनि हालत उस्तै छ । यो पुल गत वैशाखमा नै बनिसक्नुपर्थ्यो । जिल्लाको दाईजीखोला पुलमा पनि पप्पुले यस्तै लापर्वाही दोर्होयाएको छ । यो पुल ०७४ को पुसमै निर्माण सक्ने गरी सम्झौता भएको थियो । पप्पु कन्स्ट्रक्सनले बाँके, सिराहा, धनुषा, सुर्खेत, सप्तरीलगायतका जिल्लामा पनि पुलका ठेक्का लिएर अलपत्र पारेको विभागका अधिकारीहरु बताउँछन् । हुलाकी मार्गमा पर्ने झापाको कन्काई पुलको निर्माणमा पनि पप्पुको लापरवाही कायमै छ ।

२०७२ जेठ मसान्तसम्ममा निर्माण सक्नुपर्ने पुल अझै बनिसकेको छैन । पुलसँगै सडकको अवस्था पनि त्यस्तै छ । कम्पनीले पर्साको सिर्सिया सुख्खा बन्दरगाह–परवानीपुर सडकसहित दुई वटा खण्ड निर्माणको ठेक्का पनि लिएको छ । हुलाकी राजमार्गको एउटा खण्डमा डेढ अर्बको ठेक्का पनि पप्पुकै जिम्मामा छ । पप्पु कन्स्ट्रक्सनसँग अहिले १० अर्ब बढीको ठेक्का छ । तर, कुनै पनि काम न समयमा भएको छ र प्रगति सन्तोषजनक छ । बरु कामको गुणस्तरीयतामाथि पटक(पटक प्रश्न उठेको छ ।

सबैभन्दा धेरै लापरवाही पुलमा……………
सडक विभागको तथ्यांकअनुसार पप्पुले सबैभन्दा धेरै लापर्वाही पुलमै गरेको देखिन्छ । गत असारमा बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाट पुल उदघाटन नहुँदै भत्कियो । यो पुल पप्पु कन्स्ट्रक्सनले साढे १६ करोड बढी लागतमा बनाएको थियो । यसको निर्माणमै गुणस्तरहीन सामाग्री प्रयोग भएको भन्दै स्थानीयले विरोध गर्दै आएका थिए । तर त्यसलाई रोक्न कसैले सकेन । ‘कोही आफूविरुद्ध बोल्यो भने पप्पुले मुख थुन्न साम, दाम, दण्ड, भेद सबै लगाउँछ,’ एक अधिकारीले भने, ‘जतिसुकै दबाव बनाउँदा पनि यो कम्पनीले समयमै काम गर्दैन ।

एउटा न एउटा समस्या देखाएर काम अल्झाउँछ । गरेको काम पनि टिकाउ हुँदैन ।’ तर, पप्पुले समयमा काम गर्दैन र उसको कामको गुणस्तरमाथि पनि प्रश्न उठेको छ भन्ने जान्दाजान्दै पनि लो बिडका कारण एकपछि अर्को ठेक्का ‘अवार्ड’ जसरी पड्काइरहेको छ । ‘काम हुँदैन भन्ने जान्दा जान्दै पनि कम रकम कबोल गरेकै कारण उसलाई ठेक्का नदिई सुखै छैन,’ विभागको एक अधिकारीले भने । विभागका प्रवक्ता मुक्ति गौतम लापर्वाही गरेरै समयमै काम नगर्नेहरुको ठेक्का तोड्न अभियान चलाउने बताउँछन् । ‘अब संस्थागत रुपमा नै एउटा मापदण्ड बनाएर ठेक्का तोड्छौं,’ उनले भने, ‘कुनै एउटा कम्पनी विशेषविरुद्ध भन्दा पनि यो अभियान वातावरण सहज हुँदा(हुँदै पनि काम नगर्ने्विरुद्ध हुनेछ ।’

पप्पुलाई पहिलो पटक दण्ड ?
नेपालगञ्जको राँझादेखि जमुनाहसम्म साढे १० किलोमिटर सडकमा ठूला–ठूला खाल्डा परेपछि पप्पु कन्स्ट्रक्सनलाई ४ करोड बढी जरिवाना तिराएको उनले बताए । उक्त सडक तोकिएभन्दा दुई वर्ष ढिलो निर्माण भएको थियो । कालिका कन्स्ट्रक्सनले जिम्मा लिएको कोहलपुर(राँझा सडक तोकिएको म्यादभन्दा आठ महिनाअघि नै हस्तान्तरण हुँदा पप्पुलाई भने दुई वर्ष समय थप्नुपरेको थियो । सडकको काम गुणस्तरीय नभएपछि पप्पुले इतिहासमै पहिलोपटक काम नराम्रो भएको स्वीकार गरी जरिवाना तिरेको थियो ।

पप्पुले नै जिम्मा लिएको बर्दिया गुलरियाको बैदीचोकदेखि मगरागाडी जोड्ने सडकको काम पनि विवादित बनेको थियो । पप्पुले रौतहटको लालबकैया नदीमा बनाएको पुल ०७४ सालमा दोस्रो पटक भासियो । पूर्वी पिलर भासिएको एक वर्षपछि पश्चिमतर्फको पिलर पनि भासियो । पप्पुले बनाएको बर्दियाको जब्दीघाटस्थित बबई नदीको पुल पनि निर्माण सकेर हस्तान्तरण नहुँदै पुल भाँचिएको थियो । त्यसमा कम्पनीको जिम्मेवारी नहुने बताउँदै सर्वोच्चमा दायर गरेको रिटमा पप्पुकै पक्षमा फैसला आयो ।।onlinekhabar

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्