कहाँ छ सरकार ? श्रीमतीका गहना धरौटी राखी बाटो खन्नु पर्ने ?



बझाङ, २२ जेठ
जिल्लाको तलकोट गाउँपालिका अन्तर्गतको रुपातोला—तलकोट—खौला सडकखण्ड निर्माणगर्दा आफ्ना श्रीमतीका नाक कानका गरगहना बैंकमा धरौटी राखी यहाँका स्थानीयले सडक निर्माण गरी गाडी गुडाएका छन ।

विगत २०६० सालमा सो क्षेत्रका तलकोटी राजा(रजवार) नारायण सिंहले सो सडक खण्डको परिकल्पना गरी २०६५ सालदेखि सडक निर्माण कार्य शुरु भएको हो । शुरुवाती सडक निर्माण कार्य गर्दा सात तोला सुन बैंकमा धरौटी राखी रजवार नारायण सिंहको नेतृत्वमा निर्माण कार्य शुरु गरिएको स्थानीयको भनाइ छ ।

कुनै दिनमा चैनपुरबाट भारी बोकेर दैनिकी चलाइ राख्न एकदमै गाह्रो हुन्थ्यो । अहिले सडक आउँदा गाउँका सर्वसाधारण गरीब जनताले घरमै सस्तो मूल्यमा चामल पाएर केही राहत भएको बताए ।
“सडक निर्माण गर्दा धेरै दुःख पायाँै, जस्मा सात तोला सुन बैंकमा राखी डोजरको सम्झौता गरेका थियाँै । अहिले विभिन्न निकायबाट करीब रु २९ लाख समितिमा आएको छ । यसमध्ये डोजर मालिकलाई दिनुपर्ने लगायत साहुबाट रु तीनका दरले ब्याजमा ऋण निकालेर अहिले रु ३४ लाखको भर्पाइ बनाइएको छ,” रुपातोला—तलकोट—खौला सडकखण्ड निर्माण समितिका सचिब रघुवीर सिंहले बताए ।

सरकारले गर्न नसक्ने काम एक व्यक्तिले घरघडेरी धरौटी राखी सबै जनतालाई यातायातको सुविधा दिएकोमा उनले धन्यवाद दिए ।

“शुरुवातमा विभिन्न व्यक्तिबाट रु २० लाख जम्मा भयो । स्थानीय तहबाट सबै गरी रु १८ लाख सहयोग प्राप्त भयो । अहिलेसम्म उधारो रु ४३ लाख तिर्न बाँकी छ । बल्ल बल्ल अहिले धेरैपछि सफलताको एक बिन्दुमा पुगेका छौँ । अहिले यस क्षेत्रका जनताले यसै बाटोबाट सेवा सुविधा लिएका छन,” तलकोटी राजा नारायण सिंहले बताए ।

“कुनै पनि योजना सफल गर्नका लागि योजनाको यथार्थ बजेट नहुँदा समितिका दाजुभाइले दुःख पाएका छन् । अब जनता बाटोमा हिँडेका छन, जनतालाई सुख छ,” उनले भने ।

जनताका लागि दुःख गर्नु राम्रो हो तर आफ्नै घरबार विजोग हुने गरी धेरै जोखिम उठाएर काम गरेकामा समितिलाई धन्यवाद, उनले भने ।

जिल्लामा सडक निर्माण कार्य धमाधम सरकारी लगानीमा भइरहेका छन तर यस क्षेत्रका स्थानीयले केही वर्ष अगाडि सुन धरौटी राखी र एक व्यक्ति बराबर रु एक लाखदेखि चार लाखसम्म व्यक्तिगत लगानी गरेर छ किलोमिटर सडक निर्माण गरेका छन ।

अहिलेसम्म रु ६४ लाखमा रुपातोलादेखि तलकोट खौला सडक खण्डमा खर्च गरेर निर्माण गरेका छन् । यस क्षेत्रमा पनि सरकारले गर्ने काम स्थानीय जनताले गरेका छन । जनताका समस्यालाई ध्यान दिने सरकारको अनुभूति पाइयोस सिंहले भने ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्