सैघाली खबर/रोल्पा, २२ जेठ।
स्थानीयबीचको वैमनश्यताका कारण रोल्पाको लुंग्री गाउँपालिका–६, गुम्चालको विकास गतिविधि ठप्प भएको छ । विकासमा पछाडि परेको भन्दै गाउँपालिकाले विशेष प्राथमिकताका साथ बजेट विनियोजन गरे पनि आपसी वैमनश्यताका कारण साविक गुम्चाल गाविस वडा नं ७, ८ र ९ को विकास गतिविधि अगाडि बढ्न नसकेको हो । पानी मुहानको विषयबाट शुरु भएको विवादले हाल वडाका सबै विकास गतिविधिमा प्रभाव पारिरहेको स्थानीयले गुनासो गरेका छन । पानी मुहानको विवादका कारण २०६५ सालमा निर्माण गरिएको योजनासमेत बेवारिसे भएको छ । योजना अवरुद्ध हँुदा वडाका २०० बढी घरधुरी आधा घण्टा टाढाबाट पानी बोक्न बाध्य छन् ।
एक घर एक धाराको कार्यक्रमअन्तर्गत योजना सञ्चालन भए पनि विवादका कारण कुवाको पानी बोकेर खान बाध्य भएको स्थानीयले बताएका छन् । विवादका कारण पानी आपूर्तिको पाइपमा क्षति पुगेसँगै घरघरमा आएको पानी बन्द हुँदा गाग्रोमा पानी बोक्न बाध्य छाँै, स्थानीय एक महिलाले गुनासो गरिन् । स्थानीयको विवादकै कारण सो गाउँमा यसपूर्व सिँचाइका लागी आएको करोडौँ बजेटसमेत फिर्ता भएको बताइएको छ । छ वर्षअघि विद्युतको पोल गाडिएको भए पनि विवादकै कारण हालसम्म बत्ती बल्न सकेको छैन ।
गाउँपालिकाले मोटरबाटो निर्माणका लागि बजेट विनियोजन गरेको भएपनि आर्थिक वर्ष समाप्त हुन लाग्दासमेत निर्माणको टुंगो लाग्न नसकेको बताइन्छ । विवादका कारण आफूहरुलाई विकास नचाहिने भन्दै केही स्थानीयले सदरमुकाम पुगेर स्थानीय प्रशासनमा उजुरीसमेत गरेको बताइएको छ । आपसी विवादका कारण विद्यालय भवनसमेत मर्मत नभई जीर्ण अवस्थामा रहेको छ, एक स्थानीयले बताए ।
गाउँपलिकाका अन्य सबै वडामा सडक पुगेपनि आफूहरु भने अझै गाडी चढ्न आधा घण्टाभन्दा बढी पैदलयात्रा गर्न बाध्य भएको उनले गुनासो गरे । सामान्य कुरामा समेत विवाद गर्ने त्यहाँको विशेषता भएपनि पछिल्ला दिनमा राजनीतिक रङगसमेत मिसिएको छिमेकी वडावासीले बताएका छन् । विकासमा पछि परेको भन्दै गाउँपालिकाले अन्य वडाको तुलनामा सो वडामा बढी बजेट विनियोजन गरेको भएपनि विवादले काम अगाडि बढ्न नसकेको लुंग्री गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर खड्काले स्वीकार गरिन् ।
विवाद मिलाउन आफूले पटकपटक प्रयास गरेको भएपनि अझै सहमति हुन नसक्दा बजेट फ्रिज हुने हो कि भन्ने चिन्ता लागेको अध्यक्ष खड्काले बताए । विवादित पक्षबीच छलफल गरेर समस्या समाधानका लागि आफूहरु लागिरहेको अध्यक्ष खड्काले बताए । विद्यालयसम्म पुग्ने मोटरबाटो निर्माणमा भने सहमति जुटेकाले अन्य विकासमा पनि सहमति हुनेमा आफू आशावादी रहेको अध्यक्ष खड्काको भनाई छ ।।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।