आफै नेता आफै ठेकेदार ! एक दिन टिकेन पिज, काठमाण्डौँदेखि दाङसम्मको हालत उस्तै ।।



सैघाली खबर, २२ जेठ।
झापाको धरमपुर–पाँचगाछी सडक खण्ड आसपासका जनताले महिनौं धुलो खाए । स्थानीय जनप्रतिनिधिले समेत दबाव दिएपछि कान्छाराम कन्स्ट्रक्सनले सडक कालोपत्रे र्गयो । तर, भोलिपल्टै उप्किन थाल्यो । हातले कोट्याउँदासमेत कालोपत्र उप्किन थालेपछि फेरि जनप्रतिनिधिलाई गुहार मागे । ठेकदारका प्रतिनिधि र सडकका इन्जिनियर लिएर शिवसताक्षी नगरपालिकाका जनप्रतिनिधि १३ चैतमा अनुगमनमा निस्किए । स्थानीयले आँखै अगाडि कालोपत्र हातले उप्काएर देखाएपछि स्थानीय जनप्रतिनिधि पनि छक्क परे ।

शिवसताक्षीका मेयर चन्द्रकुमार शेर्मा भन्छन्, ‘सम्बधित निकायले अनुगमन नगरी छुट दिँदा ठेकदारले कति लापरवाही गर्छन् भन्ने प्रमाण यो सडक बनेको छ ।’ शिवसताक्षी त प्रतिनिधि घटना मात्र हो, कान्छाराम कन्स्ट्रक्सनले ठेक्का पाएका अधिकांश ठाउँमा यस्तै काम भएको छ । यो कम्पनी कांग्रेसका नेता पूर्णबहादुर तामाङ हो । रामेछापबाट प्रतिनिधिसभा चुनावमा हारेका कान्छाराम जति चर्चित छन्, उनको निर्माण कम्पनी त्योभन्दा कयौं गुणा बढी बदनाम छ ।

पछिल्लो समय कान्छाराम कन्स्ट्रक्सनको काम गरेका अधिकांश स्थानमा समस्या देखिएको छ । धेरै काम भएको छैन भने काम भएका ठाउँमा पनि गुणस्तरीय छैन । बतासे र राजापानी जोड्ने मोटरेबल पुल निर्माणमा ढिलाइ गरेपछि देवसायर एन्ड कान्छाराम जेभीलाई जिल्ला प्रशासन कार्यालय खोटाङमार्फत गृह मन्त्रालयमा कारवाहीका लागि सिफारिस गरिएको छ । यो पुल समयमा नबन्दा स्थानीयलाई त सास्ती भएको छ नै लागत पनि बढ्ने अवस्थामा पुगेको छ ।

दाङ, घोराहीको चार लेन सडक विस्तारको अवस्था पनि उस्तै छ । यहाँ कान्छाराम–शंकर माली जेभीले ठेक्का पाएको छ । कटुवा खोला–तुलसीपुर चोकसम्म सडक विस्तारका लागि ३ पटक म्याद थपिसक्दा पनि काम भएको छैन । यो खण्डमा पेटी ठेकदार लगाएर बल्ल ५० प्रतिशत काम भएको छ । नमुना सडक बनाउने भनेर बेलबास–बेथरी सडक आयोजना एक अर्ब ४८ करोड ९९ लाखमा ठेक्का लाग्यो । तर बनेर होइन, काम नभएर नमुना बन्ला जस्तो छ । यो सडकको एक खण्डमा ब्रजगुरु–कान्छाराम जेभीले काम गर्दैछ । तर, कामको गति निकै सुस्त छ । मुआब्जा र रुख कटानको विवादले काम नगरेका ठेकदारलाई आगामी साउनको म्याद गुजार्न सहज भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत बर्तुङ–चिडियाखोला खण्डको सिद्धबाबा क्षेत्रमा पनि कान्छारामको काम उस्तै छ ।

एक वर्षमा काम सक्ने गरी कान्छाराम–जयबाबा गोरख जेभीले ठेक्का पाएको ५ वर्ष पुग्नै लाग्दासमेत निर्माण सम्पन्न भएको छैन । यही ३ किलोमिटर कच्ची खण्डले यात्रीलाई सास्ती दिएको छ । ५ करोडमा ठेक्का हात पारेका ठेकदारहरुले ३ करोड भुक्तानी लिइसकेका छन् । तर, काम ७० प्रतिशत पनि भएको छैन । झुम्सा, दोभान, सिद्धबाबा, वृन्दावन, डुम्रे, केराबारी क्षेत्र कान्छारामको लापरवाही शैलीको काम गराईले समस्या आएको सडक डिभिजन कार्यालय पाल्पाका प्रवक्ता पवित्रमणि आचार्यले जानकारी दिए । ‘एकपटक पिच गरेको पनि राम्रो नभएपछि हामीले भुक्तानी दिएनौं ।

उसको अब पनि म्याद थप्नुर्पयो भनेपछि जरिवाना तिराएका छौं’ आचार्यले भने, ‘पटक–पटक पत्र लेखेर काम गर्न आग्रह गर्दा पनि अटेर भयो । अहिले फेरि काम गर्छौं भनेको छ ।’ ठेकदारको लाहपरवाहीले आफ्नो डिभिजनकै बदनामी भइरहेको आर्चायको गुनासो छ । कास्कीको आँधीखोलामाथि मोटरेबल पुल बनाउने काममा पनि ‘कान्छाराम अशेष जेभी’ कम्पनीको लापरवाही प्रष्ट देखिन्छ । २०७३ असोजमा बनिसक्नुपर्ने पुलको जग मात्रै बनेको छ अहिलेसम्म । समयमै पुल नबन्दा लागत बढ्को छ । पुलमा डिजाइन ‘रिभ्यू’ गर्नुपरेकाले एक वर्ष ढिला भयो । त्यसपछि भने कम्पनीले काम गर्न चासो नदिएको आरोप सडक डिभिजन कार्यालय पोखराको छ ।

कान्छाराम कन्स्ट्रक्सनले ठेक्का पाएपछि काम नगर्ने समस्या अहिले मात्र देखिएको होइन । काठमाडौंको तीनकुने–माइतीघर सडकको ठेक्का कान्छाराम कन्स्ट्रक्सन एण्ड शर्मा जेभीले पाएको थियो । सरकारले पटक–पटक सार्वजनिक रुपमा ठेक्का सम्झौता तोड्ने चेतावनी दिएपछि मात्रै कम्पनीले बल्लतल्ल काम पुरा गरेको थियो । तर, गुणस्तरीय काम नगरेपछि अझै पूरा भुक्तानी पाएको पनि छैन । कलंकी नागढुंगा सडकको ३ मध्ये २ वटा खण्डमा शैलुङसँग कान्छारामको ज्वाइन्ट भेञ्चर छ । दुबै ‘कामचोर’ ठेकदार मिलेपनि यो सडकमा बेहाल कायमै छ । झन वर्षा लागेपछि यो सडकमा हिँड्नेहरुको अवस्था कस्तो होला ? onlinekhabar

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्