आगलागी पीडित भन्छन्, गाँस बासको टुंगो छैन ।।



सैघाली खबर, २२ जेठ।
मुगु कार्मारोङ्ग गाउँपालिका –४, किम्री गाउँका आगलागी पीडितहरुलाई बर्खाको समयमा कहाँ बास बस्ने र के खाने भन्ने चिन्ताले पिरोल्न थालेको छ । टोलमा कोही नयाँ मान्छे पुग्यो कि गएको वैशाख २० गते भएको आगलागीका पीडितका आँखा रसाइहाल्छन् । आगलागीबाट १९ घर जलेर पूर्ण रुपमा नष्ट भएका थिए ।

अहिलेसम्म पनि १९ घरका १५० जना पालको छानोमा आश्रय लिएर दिन कटाउन बाध्य छन् । आगलागीपछि केन्द्र सरकार, प्रदेश सरकार र सरकारी तथा गैरसरकारी निकायबाट तत्काल आवश्यक पर्ने राहत सामाग्री पुगेको भए पनि उनीहरुलाई बर्खाको समय शुरु हुनै लाग्दा अब पालकै टहरामा कसरी दिनरात कटाउने भन्ने चिन्ताले पिरोल्न थालेको छ । पीडित स्थानीयवासी अहिले विभिन्न सरकारी तथा गैरसरकारी निकायबाट उपलब्ध गराएका पाल र गाउँलेले सहयोग गरेको काठ बेरेको टहरामा समय गुजारिरहेका छन् ।

वर्षातको समय आउनुअघि बास बनाउने आफूहरुको अवस्था नभएको र छिमेकीको साहारामा दिन काट्नु आफूहरुको दैनिकी भएको स्थानीयबासिन्दाको भनाई छ । अग्नि पीडितका लागि तत्काल आधारभूत राहत व्यवस्था गरिए पनि उनीहरुको अस्थायी पुनर्वास व्यवस्थापनका लागि विभिन्न गैर सरकारी संघ संस्था, निजी क्षेत्रसँग समन्वय गर्ने कार्य जारी रहेको जिल्ला दैवी प्रकोप व्यवस्थापन समितिले जनाएको छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्