प्रदेश १

समायोजनपछि कर्मचारी पुनः संघमा आउन सक्ने प्रस्ताव ।।

By थाहा अनलाइन

June 05, 2018

सैघाली खबर, २२ जेठ। संघबाट कर्मचारी समायोजन गरी प्रदेश तथा स्थानीय तहमा पठाए पनि बढुवा नभएको अवस्थामा पुनः संघमा आउनसक्ने व्यवस्था गर्न लागिएकोे छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको संघीय निजामती कर्मचारीको विधेयकमा यस्तो प्रस्ताव गरिएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए ।

उनका अनुसार प्रदेश तह र स्थानीय तहमा संघबाट समायोजन भएर गएका कर्मचारी बढुवा नभएको अवस्थामा पुनः संघमा सरुवा भएर फर्कने प्रस्ताव विधेयकमा गरिएको हो । “संघबाट प्रदेश र स्थानीय तहका कर्मचारी बढुवा भएको खण्डमा संघमा पुनः फर्कन सक्दैनन्”, उनले भने, “तर प्रदेश र स्थानीय तहमा गएका कर्मचारी त्यहाँ बढुवा हुन नसकेको खण्डमा संघमा पुनः सरुवा गरी फर्काउने प्रस्ताव विधेयकमा गरिएको छ ।”

यसैगरी विधेयकमा प्रदेश र स्थानीय तहमा छ वर्ष सेवा गरेका वा प्रदेशमा तीन वर्ष सेवा गरी स्थानीय तहमा पनि तीन वर्ष सेवा गरेका कर्मचारी पुनः संघमा सरुवा भएर फर्कने व्यवस्था पनि गरिएको छ । करीब एक लाख आठ हजार कर्मचारी रहेकामा ३० हजार संघ, २१ हजार प्रदेश र ५७ हजार स्थानीय तहमा जाने गरी समायोजन गर्ने गरी कार्य थालिएको छ ।।