ट्रम्प–किम शिखर वार्ताको सुरक्षा नेपाली सेनाले गर्ने ।।



सैघाली खबर २२ जेठ।
यसै महिनाका लागि तय भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उत्तर कोरियाली नेता किम जोङ उनबीच सिंगापुरमा हुने ऐतिहासिक शिखर वार्ताको सुरक्षा नेपाली गर्ने भएका छन् । रोयटर्समा प्रकाशित समाचार अनुसार बहुप्रतिक्षित ट्रम्प–किम वार्तास्थलको सुरक्षा सिंगापुर प्रहरीमा रहेका गोर्खाली अर्थात नेपाली सुरक्षाकर्मीलाई जिम्मा दिइएको हो । वार्ताका क्रममा ट्रम्प र किमका आफ्नै व्यक्ति सुरक्षा टोली पनि रहनेछ । उनीहरुको टोलीसँग सिंगापुर प्रहरीले सहकार्य गर्नेछ । जसमा सिंगापुर प्रहरीमा रहेको ‘गुर्खा कन्टिनजेन्ट’ अर्थात सिंगापुर प्रहरीभित्र रहेको नेपाली टुकडी पनि समावेश हुनेछ ।

उनीहरुले वार्तास्थल, सडक, होटेल लगायतका स्थानमा पहरा दिनेछन् । सिंगापुर प्रहरीमा रहेका नेपालीहरुको संख्या न्यून भए पनि यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अमेरिकी रक्षा सचिव जिम माटिस तथा अन्य विशिष्ट व्यक्तिहरुको भ्रमणमा सुरक्षा दिएका थिए । रोयटर्सले जतिसुकै आधुनिक हतियारसम्पन्न भए पनि गोर्खालीहरु बिना खुकुरी लड्नका लागि तयार नहुने जनाएको छ ।

इन्टरनेसनल इन्ष्टिच्यूट फर स्ट्राटेजिक स्टडिज(आईआईएसएस) का विज्ञका रुपमा रहेका टिम हक्स्ले भन्छन्, ‘सिंगापुरले उपलब्ध गराउन सक्ने जति सुरक्षा उपलब्ध गराउँदैछ ।’हक्स्ले भन्छन्, ‘गोर्खालीहरु सधैँ मोर्चा अग्रपंक्तिमा रहेर काम गर्दछन् । उनीहरुलाई विशेष परिस्थितको सामना कसरी गर्नुपर्छ भन्ने कुरामा निकै पोख्त हुन्छन् ।’

सिंगापुर प्रहरीका प्रवक्ताले भने कति जना गोर्खालीलाई खटाइनेछ भन्ने प्रश्नमा प्रतिक्रिया दिएका छैनन् । आईआईएसएका अनुसार सिंगापुर प्रहरीको विभिन्न ६ वटा प्यारामिलिटरी कम्पनीमा १८ एक हजार ८ सय नेपाली कार्यरत भएको जनाएको छ । सिंगापुर प्रहरीमा रहेका १२ इकाइमध्ये गुर्खा कन्टिन्जेन्ट पनि एक हो ।

यो इकाइको स्थापना सन् १९४९ अप्रिल ९ मा स्थापना भएको थियो । सुरुमा यो इकाइले हुलदंगा नियन्त्रण गर्न खटाइए पनि विस्तारै भीआईपीको सुरक्षामा पनि खटाइन थालिएको हो । सन् १९७८ मा यसलाई प्रिजन गुर्खा युनिट(पीजीयू) का रुपमा पूनर्गठन गरियो तर सन् १९८१ मा यसलाई पुनः गुर्खा कन्टिनजेन्टको रुपमा पुनर्संरचना गरियो । अहिले सिंगापुर प्रहरीमा कार्यरत नेपालीलाई भीआईपीका सुरक्षादेखि विभिन्न भूमिकामा खटाइएको छ ।।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्