शून्य किलो सुनकाण्ड अहिलेको चर्चित प्रकरण हो



२२ जेठ, काठमाडौं । अहिलेको चर्चित प्रकरण हो- साढे ३३ किलो सुनकाण्ड । तर, यसलाई सुन तस्करहरुले ‘शून्य किलो सुनकाण्ड’ मा ढिसमिस गरेर गृहमन्त्रालयको अप्रेसनलाई असफल बनाउने प्रयास थालेका छन् ।

ज-जसलाई ‘साढे ३३ किलो सुनकाण्ड’ मा समातिएको छ, उनीहरुले एक लाल पनि सुन बरामद नभएका कारण तस्करी प्रमाणित हुनै नसक्ने जिकिर गर्न थालिसकेका छन् ।

र, पछिल्लो समय गृहमन्त्री रामहादुर थापा बादलभन्दा सुन तस्करीको आरोपमा पक्राउ परेकाहरुको स्वर चर्को देखिन थालेको छ ।गृहमन्त्रालय रक्षात्मक बन्दैछ । सँगसँगै सुन तस्करीको मुद्दा एकपछि अर्को गर्दै कमजोर बन्न थालेको छ ।

यो प्रकरणमा मूलतः दुईवटा अपराध सतहमा आएका छन् र छानविन गर्नुपर्ने विषय पनि यिनै दुईवटा हुन्ः एउटा-सुन तस्करी एवं संगठित अपराध । अनि अर्को चाहिँ सनम शाक्यको हत्या भएकाले ज्यान सम्बन्धी अपराधको अनुसन्धान ।अहिलेसम्म साढे ३३ किलो सुन नभेटिए पनि सनमको शवचाहिँ भेटिइसकेकाले ज्यान मुद्दाबाट गोरेको ग्याङ उम्कन कठिन छैन ।

खोइ त साढे ३३ किलो सुन ?

‘यस मुद्दामा सुन नै बरामद भएको छैन । यसरी सुन नै बरामद नभएको कुरामा म उपर यस्तो झूठा मुद्दा लगाई मलाइ पूर्णरुपमा फसाउन खोजेको हो ।’

खत्रीले आफू विमानस्थल भन्सारमा कार्यरत रहँदा गोरेले सून सम्बन्धी सूचनाहरु दिएर सहयोग गरेको भन्दै उनको वचाउ गरेका छन् । साथै, गोरे डीआइजी गोविन्द निरौलाको मान्छे भएको खत्रीले बारम्बार दोहोर्‍याएका छन् ।

तस्करीको भनिएको साढे ३३ किलो सुन कहाँ छ, अहिलेसम्म गृहमन्त्रालयले पत्तो लगाउन सकेको छैन । यो पत्ता नलगाउने हो भने मुद्दा निकै नै फितलो बन्न जानेछ र यसको फाइदा तस्करहरुले उठाउने निश्चित छ

एसएसपी खत्री पहिले पनि सुनकाण्डमा समातिएर पाटन उच्च अदालतमा साधारण तारेखमा छाडिएका प्रहरी अधिकारी हुन् । अहिलेको प्रकरणमा उनी दोषी छन् कि छैनन् ? यो अनुसन्धानकै विषय हो । तर, खत्रीले दिएको वयान पनि फौजदारी न्यायशास्त्रमा कम्ता रोचक छैन ।

सुन नै छैन, कसरी म सुन तस्कर भएँ ?

भोलि यही तर्काधारमा अदालतले खत्री र अन्य आरोपीलाई विगतमा जस्तै रिहा गरिदियो भने गृहमन्त्रालयको तस्कर समात्ने अभियान बीचैमा तुहिन सक्छ । किनभने, विगतमा पनि तस्करहरु यसैगरी जोगिँदै आएका छन् । र, सरकारले हार व्यहोर्दै आएको छ ।

साढे ३३ किलो सुनकाण्ड प्रकरणमा अहिले गृहमन्त्रालयको पहलकदमीमा जसरी मुद्दा अगाडि बढाइएको छ, यसलाई असफल बनाउन तस्करहरुका तर्फबाट पैसा खाएर वकालत गर्ने विद्वान वकिलहरु अनेकन जालझेल र कुतर्कमा जुटिसकेका छन् । श्यामबहादुर खत्रीको वयान पनि तिनै वकिलहरुले घोकाएर पठाएको विद्या हो ।

अब तस्करहरुको पहिलो प्रयास ‘३३ किलो सुन प्रकरण’लाई ‘शून्य किलो सुन प्रकरण’ मा परिणत गर्ने हुनेछ । सुन नै बरामद भएको छैन, अनि कसरी र कुन सुन हामीले तस्करी गर्‍यौं ? यही प्रश्नलाई तस्करहरुले आफ्नो तर्काधार बनाउने छन् ।

किनभने, तस्करीको भनिएको साढे ३३ किलो सुन कहाँ छ, अहिलेसम्म पत्तो लगोको छैन । यो पत्ता नलगाउने हो भने मुद्दा निकै नै फितलो बन्न जानेछ र यसको फाइदा तस्करहरुले उठाउने निश्चित छ ।

अब गृहमन्त्रालयले सुन तस्करहरुलाई उम्कन नदिने हो भने अनामनगरबाट गायव भएको भनिएको साढे ३३ किलो सुन कहाँ छ, त्यो पत्ता लगाउनु पहिलो शर्त हो । त्यो सुन बरामद भयो भने मुद्दा बलियो हुनेछ ।

गोरेलाई जोगाउने चलखेल !

कुनै सरकारी अधिकारी वा सुरक्षा निकायको साथ विना गोरे सकुशल गौरीघाटस्थित घरमा प्रवेश सम्भव थिएन । प्रहरीको खोजीको सूचीमा रहेका उनी कसरी गौरीघाट आइपुगे ? यो वस्तुस्थितिलाई हेरेर कतिपयले गोरेले प्रहरी र सरकारी अधिकारीहरुसँग सेटिङ मिलाएर गिरफ्तारी दिएको अनुमान लगाएका छन् ।

गोरेका ससुराली नेकपाका ठूला नेता हुन् । यसका साथै वकिल विद्या जानेका आफन्तहरुको पनि आड र संरक्षण रहेकाले गोरेले गौरीघाटमा आएर गिरफ्तारी दिएको बुझ्न सकिन्छ ।

पक्राउ परेका गोरेमाथि दुईवटा सजायँ हुन सक्छ, एउटा सुन तस्करी र संगठित अपराधमा । र, अर्को सनम शाक्यको हत्या गरेको अभियोगमा ज्यान सजाय । सुन तस्करीमा छुटे पनि वा कम सजायँ भए पनि सनम हत्यामा गोरे फस्न सक्ने सम्भावना प्रवल छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्