वातावरण प्रर्दुशनको न्युनिकरण गरौ



जेठ २३ । विश्व वातावरण दिवस हिजो विभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ ।

नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रम आयोजना गरिएको थियो । वातावरण संरक्षणमा लाग्न प्रेरित गर्ने नारा लगाइए । नेपालमा सरकारी र गैरसरकारी दुवै स्तरमा कार्यक्रममार्फत जनचेतना विस्तारका लागि प्रयास गरिए । प्रधानमन्त्रीले त यस अवसरमा नेपालमा बिरुवा रोेपेर अक्सिजन निर्यात गर्ने अवधारणा नै अगाडि सार्न भ्याए । तर, वातावरण विनाशको सामान्य अर्थ राजनीतिक तर्क र बहस भने त्यति खुलेर आएको देखिएन ।वातावरण विनाश गर्ने मुख्य कारण मानिसले प्रकृतिका स्रोतमाथिको अत्यधिक र अनुचित दोहन हो भन्ने स्वीकार गरिएको धेरै वर्ष भइसकेको छ । तर, यसरी अत्यधिक दोहनका लागि जिम्मेवार रहेको पुँजीवादी विकास मोडल र त्यसको सिको गर्दै अघि बढेका सबै देशले लिइरहेको बाटोका विषयमा कमै बहस हुने गर्छ । यतिवेला आममानिसको उपभोगका लागि उत्पादन गरिने वस्तु र आमउपभोगको प्रवृत्तिमा आइरहेको व्यापक परिवर्तनले प्रकृतिको सन्तुलनमा गम्भीर असर परिरहेको छ ।

खनिज ऊर्जाको अत्यधिक दोहन र उपभोग, कोइलाले उत्पादन गर्ने ऊर्जामा अत्यधिक निर्भरता, सार्वजनिक होइन, निजी सवारीमा यात्रा गर्न जोड दिने सरकारका नीति, विद्युतीय उपकरणको अत्यधिक प्रयोगमा निर्भर हुँदै गएको जीवनशैली, कर्पोरेट स्वार्थ र मुनाफाका लागि जंगलको व्यापक विनाश तथा प्लास्टिकको प्रयोगपछि समुद्रसम्म पुग्ने गरी नदीनालालाई फोहोर फाल्ने भाँडो बनाउँदा उत्पन्न हुने प्रभाव आदि अनेक पक्षले वातावरण विनाश गर्दै प्रकृतिको इकोसिस्टममाथि नै हस्तक्षेप गरिरहेको छ ।

वातावरणीय विनाशका कारण स्वास्थ्यमा पर्ने असरले बर्सेनि अर्बौंको नोक्सानी व्यहोर्नु परिरहेको छ । यी सबै समस्याको समाधान भनेको जीवनशैलीमा परिवर्तनसहित अत्यधिक मुनाफामा आधारित उत्पादन ढाँचामाथिको हस्तक्षेप नै हो ।

यस्तो वातावरणीय विनाशले जलवायु परिवर्तनमा पार्दै गएको प्रभावका कारण मानव जातिसहित सम्पूर्ण प्राणी तथा वनस्पति जगत्को भविष्य नै अनिश्चित हुँदै गएको कुरा गरिँदै छ । अहिले नै मानवीय कार्यकलाप र उपभोगको धुन्धुकारी प्रवृत्तिमाथि नियन्त्रण नगर्ने हो भने हाम्रो भावी पुस्ताको जीवन संकटमा पर्ने निश्चित छ । हामी नयाँ पुस्तालाई कस्तो पृथ्वी छाडेर जान्छौँ भन्ने प्रश्न उठाउन थालिएको पनि धेरै वर्ष भइसकेको छ ।

नेपालका सन्दर्भमा पछिल्लो समय वातावरण विनाशका लागि पूर्वाधारको निर्माणका लागि यत्रतत्र चलाइएको खनखोस्री अभियान, मानिसहरूको जीविकोपार्जनका लागि जंगल क्षेत्रको अतिक्रमण र दोहन, कमसल गुणस्तरको खनिज तेल र कम गुणस्तरका सवारी साधनको अत्यधिक प्रयोग, ढलको अव्यवस्थित व्यवस्थापनका कारण सहरवरपरका नदीमा जलचरको जीवनचक्र नष्ट हुने गरी गरिएको फोहोर, चुरेभन्दा तलका क्षेत्रमा ढुंगा–गिट्टी–बालुवाको अत्यधिक उत्खनन र वनविनाश तथा जमिनमुनिको पानीको अत्यधिक प्रयोग हुँदै जाँदा उत्पन्न अवस्थालाई जिम्मेवार मानिएको छ ।

यससँगै औद्योगिक क्षेत्रबाट फिल्टर नगरिएको धुवाँ र धुलोका कणको बेपर्वाह वायुमण्डलमा प्रवेश, इँटाभट्टाले फाल्ने धुवाँ, वनमा लाग्ने डढेलोलगायत पनि कारण बनेका छन् । वातावरणीय विनाशका कारण स्वास्थ्यमा पर्ने असरले बर्सेनि अर्बौंको नोक्सानी व्यहोर्नु परिरहेको छ । यी सबै समस्याको समाधान भनेको जीवनशैलीमा परिवर्तनसहित अत्यधिक मुनाफामा आधारित उत्पादन ढाँचामाथिको हस्तक्षेप नै हो । बहसलाई यता मोड्न जरुरी देखिन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्