थारु समुदायका युवती पनि सिलाइकटाइतर्फ आकर्षित



भीमदत्तनगर, २३ जेठ कञ्चनपुरको दक्षिण पुनर्वास नगरपालिका–८, खड्डाकी ३० वर्षीया माया राना विगत एक दशकयता सिलाइ/कटाइको काम गर्नुहुन्छ ।

आफूसित सीप र लगनशीलता भए सफल भइन्छ भन्ने उदाहरण बन्नुभएकी रानाको परिवारको खर्चसमेत सिलाइ÷कटाइबाटै चलेको छ । धनगढी उपमहानगरपालिकाको ‘कैलाली गाउँ’मा माइतीघर छँदा सिलाइ कटाइको काम सिक्नुभएकी राना विवाहपछि उक्त सीप दैनिकी धान्ने औजार बनेको बताउनुहुन्छ ।

“विवाहपछि केही समय घरमै बसेर पनि गाउँलेको लत्ताकपडा तथा स्कूल डे«सहरु सिलाइ गरेँ”, उहाँले भन्नुभयो, “श्रीमान् फर्निचरको काम गर्नुहुन्छ, म सिलाइको ।” दम्पतीसित भएको सीप नै उहाँहरुको परिवारको लालनलापनदेखि खर्च टरेको छ ।

सिलाइको कामसँगै पछिल्लो समय गाउँका महिलालाई समेत सिलाइ÷कटाइको प्रशिक्षण दिँदै आउनुभएकी माया राना पछिल्लो समय राना थारू समुदायका युवतीसमेत सीपमूलक काममा आकर्षित भइरहेको बताउनुहुन्छ ।

 

“अहिले मेरै पसलमा समेत राना समुदायका युवती सिलाइको काम सिक्दैछन्”, उहाँले भन्नुभयो, “आफू सामान्य लेखपढ भएपनि सीपकै कारण अहिले अरूलाई पनि सिकाउने भएँ ।” “परिवारको सामान्य अवस्था हुँदा ५ कक्षामै विद्यालय छाडेँ”, उहाँले भन्नुभयो, “पढाइ नसके पनि अभिभावकले व्यावसायिक सीप आर्जन गर्न लगाएँ ।”

गाउँको सिलाइ पसलमा खड्डा, कंकड, धनसिंगा, ‘ख’ गाउँ, बीचफाँटाबाट समेत स्थानीयवासी आउने गरेको उहाँले बताउनुभयो । “गाउँमा छिटो÷छरितो सेवाग्राहीको काम गरेकै कारण व्यापारको दायरा बढ्दै गयो”, रानाले भन्नुभयो, “जेठ÷वैशाखमा स्कूलको भर्नाका बेला निकै कामको चाप हुन्छ ।”

उहाँले सिलाइ÷कटाइबाट मासिक रु दश हजारभन्दा बढी आम्दानी हुने गरेको बताउनुभयो । “सीप भए लगानी थोरै भएपनि आम्दानी राम्रो हुँदोरहेछ”, रानाले भन्नुभयो, “दातृ निकायबाट सहयोग मिले गाउँमा सिलाइको दक्ष प्रशिक्षक बन्ने सोचमा छु ।” सिलाइबाट आम्दानी भएको रकम उहाँ मासिक आमा समूहमा बचतसमेत गर्नुहुन्छ । “दुईवटा समूहमा मासिक रु ४०० बचत गर्ने गरेको छु”, उहाँले भन्नुभयो, “हाम्रो समुदायमा सिलाइ÷कटाइको काम गर्ने युवती बढ्दै गएका छन् ।”

उहाँले राना समुदायमा युवा पुस्तामाझ भने परम्परागत पहिरन लोप हँदै गइरहेकोप्रति चिन्ता व्यक्त गर्नुभयो । “गाउँमा बुढी आमाहरु परम्परागत पहिरन घरमै उत्पादन गरेर लगाइरहेका छन्”, उहाँले भन्नुभयो, “युवापुस्ताले समेत पहिरन संरक्षणमा ध्यान दिनु जरुरी छ ।”

त्यसैगरी, सोही गाउँकै २१ वर्षीया सुमित्रा राना पनि प्रवीणता प्रमाणपत्र तहको परीक्षा दिएर सिलाइ कटाइ नै गर्नुहुन्छ । विगत सात महिनादेखि सिलाइको काम सिकिरहेको बताउँदै उहाँले पनि सीप सिकेर व्यापार गर्ने योजना रहेको बताउनुभयो । “सीप हातमा भएपछि त केही गर्न सकिन्छ भन्ने मनोबल पनि उच्च हुँदोरहेछ”, सुमित्राले भन्नुभयो, “घरमा बेरोजगार भएर बस्नुभन्दा सीप सिक्न मन लाग्यो ।”

विगतमा घरमा सिलाइ÷कटाइ गरेबापत सिलाउनेलाई अन्न दिने प्रचलनसमेत हट्दै गएको उहाँले बताउनुभयो । “सिलाइ गरेबापत पहिले दमाईंहरुलाई वार्षिक धान, गहुँ दिने गरिन्थ्यो”, उहाँले भन्नुभयो, “पछिल्लो दशकयता हाम्रो समुदायमा पनि सीप सिकेर आफैँ सिलाउन थालिसके ।”

त्यसैगरी, स्थानीयवासी देवकी राना पनि सुमित्रासित सिलाइको काम सिक्दैहुनुहुन्छ । “थोरै लगानीमा सीप भए व्यवसाय गर्न सकिने भएर सिलाइको काम सिक्दैछु,” २० वर्षीया देवकीले रासससित भन्नुभयो, “हातमा सीप भए बेरोजगार हुनुपर्ला ररु” उहाँले पनि घरका अभिभावकको सल्लाहमा फुर्सदको समयमा सिलाइको काम सिकिरहेको बताउनुभयो ।

उहाँले राना र थारू चौधरी समुदायका युवायुवती सीपमूलक काममा अग्रसर रहेको बताउनुभयो । “पहिले अरू समुदायले मात्रै यो काम गर्थे”, उहाँले भन्नुभयो, “आम्दानीको राम्रो स्रोत बन्न थालेपछि सबैको ध्यान सीपमूलक कामले तान्दै गयो ।”
–––

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्